२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सशस्त्र प्रहरीमा ६ सय ६६ जनाका लागि नयाँ भर्ना खुल्यो

सशस्त्र प्रहरीमा ६ सय ६६ जनाका लागि नयाँ भर्ना खुल्यो

590
Shares

काठमाडौँ -सशस्त्र प्रहरी बल, नेपालले साधारण समूह तथा साधारण उपसमूहतर्फ रिक्त रहेका विभिन्न पदमा नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानव स्रोत विभागअन्तर्गत भर्ना तथा छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि जवान र विभिन्न ट्रेडका परिचर गरी कुल ६६६ जनाका लागि आवेदन माग गरिएको हो।

सूचना अनुसार कुल पदमध्ये सशस्त्र प्रहरी जवान पदका लागि ६०४ जना माग गरिएको छ। जसमा खुलातर्फ ३२६ जना, आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ र अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ सिट रहेको छ ।

यस्तै, साधारण उपसमूहतर्फ विभिन्न ६ वटा ट्रेडका ६२ जना सशस्त्र प्रहरी परिचरका लागि पनि आवेदन खुलाइएको छ। जसअन्तर्गत भान्छेतर्फ ३८ जना, कूचिकारतर्फ ८ जना, केशकर्तकतर्फ ७ जना, सूचिकारतर्फ ६ जना, चर्मकर्मीतर्फ २ जना र माली पदका लागि १ जनाको माग गरिएको छ। यी पदहरूमा पनि खुला र समावेशी कोटा निर्धारण गरिएको छ।

योग्यता पुगेका नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। अनलाइन आवेदन भरेका उम्मेदवारले असोज ३० गतेभित्र आफूले आवेदन दिएको सम्बन्धित कार्यालयमा उपस्थित भएर सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ।

आवेदन फाराम सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकसहित देशभर तोकिएका बाहिनी मुख्यालय, गण तथा गुल्महरूबाट बुझाउन सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij