२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी सनराइज बैंकले बाढीपीडितका लागि दियो ३ करोड २४ लाख

लक्ष्मी सनराइज बैंकले बाढीपीडितका लागि दियो ३ करोड २४ लाख

385
Shares

काठमाडौं – लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो। बाढीबाट प्रभावित नागरिकलाई सामान्य जीवनमा फर्काउन तथा पुनर्निर्माण अभियानलाई गति दिन सरकारी तहबाट भइरहेका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको बैंकले जनाएको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। विपद्का कारण प्रभावित क्षेत्रमा घर, जीविकोपार्जनका साधन तथा महत्वपूर्ण पूर्वाधार नष्ट भएका छन्।

तत्काल खोज, उद्धार र राहतमा केन्द्रित सरकारी प्रयास अब क्रमशः पुनःस्थापना तथा पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला बैंकको सहयोगले प्रभावित परिवारलाई दीर्घकालीन रूपमा पुनःस्थापित गर्ने अभियानमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

बैंकले विपद्मा आफन्त, आवास तथा जीविकोपार्जनका स्रोत गुमाएका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, खोज तथा उद्धार, राहत वितरण र विपद् व्यवस्थापनमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक, राहतकर्मी तथा स्थानीय समुदायको भूमिकाप्रति सम्मान व्यक्त गरेको छ।

विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिने प्रतिबद्धता जनाउँदै बैंकले प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्निर्माण र विपद् प्रतिरोधात्मक क्षमता विकासका प्रयासमा आफ्नो भूमिका निरन्तर रहने जनाएको छ।

लक्ष्मी सनराइज बैंकले हाल देशभर २५४ शाखा र ३२६ एटीएममार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij