काठमाडौं -कामना सेवा विकास बैंकले धरान उपमहानगरपालिका–१२ क्षेत्रमा सञ्चालित टेम्पु तथा सिटी सफारी चालकहरूलाई २०० थान डस्टबिन वितरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धरान शाखामार्फत उक्त डस्टबिन वितरण गरेको हो । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संघका अध्यक्ष मिनकुमार श्रेष्ठ तथा धरान उपमहानगरपालिका–१२ का कार्यवाहक वडाध्यक्ष आयन्द्रविक्रम बेघाको उपस्थितिमा डस्टबिन हस्तान्तरण गरेका हुन् ।
डस्टबिन वितरण गर्दै भुसालले सार्वजनिक यातायातका साधनमा फोहोर फाल्ने भाँडोको व्यवस्था गर्दा फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्नुका साथै यात्रुमा सरसफाइप्रति सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।
त्यस्तै, यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले टेम्पु तथा सिटी सफारीमा यात्रा गर्ने यात्रुलाई जथाभावी फोहोर नफाल्न प्रोत्साहित गर्न र नगरको स्वच्छता कायम राख्न कार्यक्रमले सहयोग पुग्ने बताए । उनले सहयोगका लागि बैंकलाई धन्यवादसमेत दिए ।
बैंकले आफ्नो व्यावसायिक गतिविधिसँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सचेतना तथा सामुदायिक हितका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बैंकको भनाइ छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij