काठमाडौं – राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिसमा सम्पन्न सभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्षहरूका लागि लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ।
सभाले सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। त्यस्तै, ती आर्थिक वर्षका लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरणसमेत सभाले पारित गरेको हो।
यसैगरी, आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिकलाई समर्थन गर्ने प्रस्तावसमेत साधारणसभाले पारित गरेको छ।

साधारणसभामा कम्पनीको वित्तीय अवस्था, विगतका आर्थिक वर्षको प्रगति तथा लेखापरीक्षणसम्बन्धी विषयमा छलफल भएको थियो। सभाबाट पारित प्रस्तावहरूले कम्पनीको नियमित संस्थागत तथा वित्तीय प्रक्रियालाई अघि बढाउन मार्गप्रशस्त गरेको छ।
राष्ट्रिय बीमा कम्पनीले साधारणसभामार्फत शेयरधनीसमक्ष कम्पनीको वित्तीय विवरण तथा वार्षिक गतिविधिबारे जानकारी प्रस्तुत गर्दै संस्थागत सुशासन र पारदर्शितालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij