२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

त्रिपाल पावरले आईपीओ ल्याउने

त्रिपाल पावरले आईपीओ ल्याउने

250
Shares

काठमाडौं – त्रिकाल पावर कम्पनी लिमिटेडको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको छ ।
साधारण सभाले कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ पुर्याउने मुख्य एजेण्डा पारित गरेको छ ।

साथै, सोही पुँजीको २५ प्रतिशत बराबर हुन आउने ७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि निष्कासन (जारी) गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्रिकाल पावर कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा २ मेगावाट क्षमताको थालीगाड साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

२०७४ साल चैत ४ गते स्थापित भई २०८३ असार ३१ गते पब्लिक कम्पनी लिमिटेडमा रूपान्तरण भएको यस कम्पनीले महाकाली नगरपालिका वडा नं. ६ र ७ भएर बहने थालीगाड खोलामा उक्त आयोजना अगाडि बढाएको हो । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग मिति २०८१ भदौ १७ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए ) सम्पन्न गरिसकेको छ ।

यसअघि नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागबाट २०८१ साउन २५ गते विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त गरेको यस आयोजनाको अनुमतिपत्रको बहाल अवधि २०८१ साउन २५ देखि २११६ साउन २४ गतेसम्म रहनेछ । प्राविधिक विवरण अनुसार आयोजनाको पानी प्रयोग गर्न ९ मिटर लम्बाइ र २ मिटर उचाइको ‘टायरोलियन’ प्रकारको बाँध निर्माण गरी बायाँ किनारमा बटम इन्टेक बनाइनेछ ।

त्यहाँबाट ग्राभेल ट्रयाप र डिसिल्टिङ्ग वेसिन हुँदै २३५० मिटर लामो हेडरेस तथा पेनस्टक पाइपमार्फत पानीलाई सतही विद्युत् गृहमा खसालिनेछ । विद्युत् गृहमा जडित १००० किलोवाटका दुई वटा पेल्टन टर्बाइन र जेनेरेटरमार्फत २ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १.२ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको थालीगाड धाप सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij