२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफको एकाउन्न लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफको एकाउन्न लाख सहयोग

365
Shares

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एकाउन्न लाख सहयोग गरेको छ । आज अर्थ मन्त्रालयमा कम्पनीका संचालक समिति अध्यक्षसंझना अर्याल , संचालक समिति सदस्यहरू विरेन्द्र जंग पाण्डे , शम्सेर पराजुली र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई ज्यूले अर्थ मन्त्री माननीयस्वर्णिम वाग्ले ज्यूलाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संकटको घडीमा सधैँ साथ रहने वाचा सहित सो रकम प्रदान गरेको हो ।

भीषण बाढी र डुबानका कारण दर्जनौँ नागरिकले अकालमै ज्यान गुमाउनु परेको, कैयौँ बेपत्ता भएको, बस्ती तथा पूर्वाधारहरू क्षतिग्रस्त भई सयौँ परिवार विस्थापित हुनु परेको यस कठिन घडीमा कम्पनीले प्रभावित नागरिकहरू प्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय र स्थानीय संघ–संस्थाहरूबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा एकाउन्न लाख रुपौया आर्थिक सहयोग प्रदान गरेको हो ।

कम्पनीले स्थापनाकालदेखि नै राष्ट्रलाई पर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको घडीमा अग्रपंक्तिमा रहेर सहयोग गर्दै आइरहेको छ । “ढुक ढुक हैन, ढुक्क होऔँ“ भन्ने मूल भावनाअनुरूप, हालको विषम परिस्थितिमा कम्पनीको तर्फबाट उपलब्ध गराइने यो आर्थिक सहयोगले बाढी प्रभावितहरूको खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुनस्र्थापना कार्यमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले यस दुःखद् घडीमा बाढीमा परी ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, बेपत्ताहरूको शीघ्र खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूप्रति उच्च सम्मान एवं आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij