२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेको सीईओ पदका लागि आवेदन आह्वान

नेप्सेको सीईओ पदका लागि आवेदन आह्वान

705
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो।

सूचना पहिलो पटक प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। इच्छुक उम्मेदवारले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

आवेदनसँगै गोप्य खामबन्दीमा व्यावसायिक कार्ययोजना समेत अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। सिइओ पदका लागि अर्थशास्त्र, व्यवस्थापन, वित्त, वाणिज्य, सूचना प्रविधि वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सिए) सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ।

साथै पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव तथा त्यसमध्ये सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ।

उम्मेदवार नेपाली नागरिक हुनुपर्ने तथा उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। कार्यविधिअनुसार आवेदन दिने उम्मेदवारले पाँच हजार शब्दभन्दा बढी नहुने व्यावसायिक कार्ययोजना तयार गरी तीन प्रति पेश गर्नुपर्नेछ।

उक्त कार्ययोजनामा नेपालको पुँजी बजारको अवस्था, नेप्सेको संस्थागत सुधार, सूचना प्रविधि, जोखिम व्यवस्थापन, लगानीकर्ता संरक्षण तथा आगामी सुधारका स्पष्ट कार्ययोजना समावेश गर्नु पर्नेछ।

छनोट प्रक्रिया दुई चरणमा हुनेछ।पहिलो चरणमा शैक्षिक योग्यता, कार्यअनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकन गरिनेछ भने दोस्रो चरणमा नेतृत्व क्षमता, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा अन्तिम तीन उम्मेदवारको नाम नियुक्तिका लागि सिफारिस गरिने कार्यविधिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij