२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नेपाल बैंकका क्रेडिट कार्डबाट अब 0 % डाउन पेमेन्टमै १८ महिनासम्म किस्ताबन्दी

नेपाल बैंकका क्रेडिट कार्डबाट अब 0 % डाउन पेमेन्टमै १८ महिनासम्म किस्ताबन्दी

335
Shares

काठमाडौं – नेपाल बैंक लिमिटेडका क्रेडिट कार्ड प्रयोगकर्ताले अब ० प्रतिशत डाउन पेमेन्टमै सामान तथा सेवा खरिद गरी १८ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने भएका छन् ।
नेपाल बैंक र ‘बाइ नाउ पे लेटर’ प्लेटफर्म ONEBNPL सञ्चालन गर्ने फिनटेक कम्पनी फिनतारा सोलुसन्सबीच बैंकका योग्य क्रेडिट कार्डवाहकलाई तत्काल ईएमआई सुविधा उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपाल बैंकका योग्य क्रेडिट कार्डवाहकले ONEBNPL को व्यापारी सञ्जालमार्फत वस्तु तथा सेवा खरिद गरी ३ देखि १८ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन् । यसका लागि प्रारम्भिक डाउन पेमेन्ट गर्नुपर्ने छैन ।

ONEBNPL को सञ्जालमा १५० भन्दा बढी अनलाइन तथा अफलाइन व्यावसायिक प्रतिष्ठान आबद्ध रहेको कम्पनीले जनाएको छ । यसमा खुद्रा पसल, मोबाइल तथा ग्याजेट स्टोर, घरायसी उपकरण विक्रेता, अस्पताल, रिसोर्ट तथा होलिडे प्याकेज प्रदायकसमेत रहेका छन् ।

यस सुविधाबाट ग्राहकले ठूलो रकम एकमुष्ट भुक्तानी नगरी आवश्यक वस्तु तथा सेवा खरिद गर्न सक्ने बैंकको भनाइ छ । सम्झौता नेपाल बैंकको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा भएको हो ।

नेपाल बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठकले फिनटेक कम्पनीसँगको सहकार्यबाट बैंकका क्रेडिट कार्डवाहकलाई आधुनिक डिजिटल ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध गराउने लक्ष्य राखिएको बताए ।

फिनतारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष के. शर्माले सरकारी स्वामित्वको ठूलो ग्राहक आधार भएको बैंकमार्फत ONEBNPL सेवा सुरु हुनु कर्जामा सहज पहुँच विस्तारतर्फ महत्वपूर्ण कदम भएको बताए ।

नेपाल बैंकका रिटेल कर्जा विभाग प्रमुख अर्जुनबहादुर कँडेल र कार्ड विभाग प्रमुख दीपक रेग्मीले ग्राहकका बदलिँदा आवश्यकतालाई ध्यानमा राखेर फिनटेक कम्पनीसँगको सहकार्यमा तत्काल किस्ताबन्दी सेवा विस्तार गरिएको बताएका छन् ।

ONEBNPL ले नेपालका १५ भन्दा बढी क्रेडिट कार्ड जारी गर्ने बैंकसँग सहकार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij