
अर्थ नेपाल संवाददाता
काठमाडौं /एनआइसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकमा २५ प्रतिशत मुनाफा गरेको छ । सो बैंकले सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशत बृद्धि हासिल गरेको हो । बैंकले गत वर्षको सोही अवधिको रु.०.८९ अर्ब मुनाफाको तुलनामा चालु वर्ष रु.१.१२ अर्ब सञ्चालन मुनाफा आर्जन गरेको छ ।
गत वर्ष सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता रु.३२.८३ करोड भएको हुनाले रु.७२.१४ करोड खुद मुनाफा भएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बैंकले रु.५७.१७ करोड खुद मुनाफा आर्जन गर्ने सफल भएको बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षमा बैंकको सञ्चालन मुनाफामा भएको स्वस्थ बृद्धि तथा कर्जामा उल्लेख्य बृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा रु ३६ करोडको बृद्धिका बाबजुद पनि बैंकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक रहेको बैंकको दाबी छ । एकसय चालिस अर्ब बराबरको वासलात आकार तथा खुद ब्याजदर अन्तरमा निरन्तर सुधारका कारण बैंकले आगामी त्रैमासिकहरुमा पनि मुनाफामा उत्साहजनक बृद्धि हासिल गर्ने अपेक्षा सो बैंकले गरेको छ ।
वार्षिक बिन्दुका आधारमा सो बैंकले आफ्नो कर्जामा रु ३५ अर्बबाट रु १०२.२० अर्ब तथा निक्षेपतर्फ रु ४१.४० अर्ब बाट रु १२०।४६ अर्बको वृद्धि हासिल गरेको छ, जुन नेपाली बैंकिङ् इतिहासमा कुनै पनि बैंकले वार्षिक बिन्दुका आधारमा हाँसिल गरेको बृद्धिका हिसाबले हाल सम्मकै उच्च भएको जनाइएको छ । सो बैंकले हाल १ सय ५९ शाखा तथा १ सय ५२ एटीएम रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij