काठमाडौँ – सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी लिमिटेड स्थापनाको ११ वर्ष पूरा गरी १२औँ वर्ष प्रवेशका अवसरमा आज विभिन्न कार्यक्रम गरिएको छ ।
वार्षिकोत्सवका अवसरमा अध्यक्ष दिनेश उपाध्यायले आगामी दिनमा कम्पनीको अवस्था थप सुदृढ बनाउँदै लगिने बताए । सरकारको ठूलो लगानी र स्वामित्व रहेको यस कम्पनीले लाभ आर्जन र सेवा प्रवाहलाई सँगसँगै अघि बढाउने गरी कार्ययोजना बनाएको उनले बताए ।
“बिमाको पहुँचभन्दा बाहिर रहेको ठूलो जनसङ्ख्यालाई समेट्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउँदै जाने र समग्र बिमा उद्योगको प्रवर्द्धन र विस्तार गर्नेगरी अगाडि बढ्नेछौँ”, अध्यक्ष उपाध्यायले भने,“प्रविधि प्रयोग र दक्ष जनशक्ति निर्माणमा जोड दिने र कम्पनीको बाँकी लेखापरीक्षण कार्य टुङ्ग्याउन पहल भइरहेको छ ।”
प्रमुख कार्यकारी अधिकृत डा शिवहरी श्रेष्ठले चालु आर्थिक वर्षभित्रै कम्पनीको सबै लेखापरीक्षण कार्यसम्पन्न गरिने बताए । कम्पनीले आव २०७७/७८ यताको लेखापरीक्षण गर्न नसकेको जानकारी दिँदै उहाँले सो कार्यसम्पन्न गर्ने र चालु आवभित्रै कम्पनीको चुक्ता पुँजी रू दुई अर्ब ५० करोड पु्र्याइने योजना रहेको बताए।
कम्पनीको शेयर संरचनामा संस्थापक शेयर ७० प्रतिशत र आमनागरिकको शेयर ३० प्रतिशत कायम गर्ने पनि श्रेष्ठले बताए । हाल कम्पनीमा नेपाल सरकारको ४७ दशमलव ५० प्रतिशत, कर्मचारी सञ्चय कोषको २२ र नेपाल बैङ्क लिमिटेडको १० दशमलव ९६ प्रतिशत गरी संस्थापक शेयर ८० दशमलव ४६ प्रतिशत स्वामित्व रहेको छ । बाँकी १९ दशमलव ५४ प्रतिशत साधारण शेयर स्वामित्व को रहेको छ ।
राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीले साबिकको राष्ट्रिय बिमा संस्थानबाट छुट्टिएका दुवै कम्पनीको पुरानो बक्यौता, कर फरफारक, जग्गाको नामसारीलगायत काम टुंग्याउनका लागि सामूहिक प्रयास आवश्यक पर्ने बताए ।
कार्यक्रममा नेपाल बिमक सङ्घका अध्यक्ष वीरेन्द्र बैदवार क्षेत्रीले सरकारी स्वामित्वको बिमा कम्पनीको बजार हिस्सा निकै कम रहेको उल्लेख गर्दै बजार विस्तारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
वार्षिकोत्सवका अवसरमा कम्पनीले उत्कृष्ट अभिकर्तालाई पुरस्कृत गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij