काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।
उक्त हकप्रद सेयरको लागि यसले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । हकप्रद सेयरमा लगानीकर्ताले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij