काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा सामान्य बृद्धि देखिएको छ । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २.५१ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
असोज मसान्तसम्म कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १.५७ प्रतिशत बढेको हो । असोजसम्म कम्पनीले १९ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ७९ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ०.५४ प्रतिशत बढेको हो ।
यसअवधिमा कम्पनीले ५५ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने ३९ करोड ३८ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५६ करोड २२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ४० करोड ६७ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ, विशेष कोषमा १ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड ५७ लाख रुपैयाँ, सञ्चित नाफा ३५ करोड ६१ लख रुपैयाँ र अन्य इक्विटीमा ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १७.३६ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २०९. ६२ रुपैयाँ रहेको छ। पीई रेसियो ४९.८२ गुणा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij