२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएलजी इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान

एनएलजी इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान

1.4K
Shares

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको आउँदो कात्तिक ७ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेदेखि विशेष साधारणसभा बस्नेछ।

सभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन गर्नेछ। यद्यपि, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत शुक्रबार नै कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति दिइसकेको छ।

कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले पूर्वघोषित हकप्रद शेयरको आकारमा परिमार्जन गरेको थियो। जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७९।८० को बोनस शेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार ७०१.३० रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ।

यसअघि कम्पनीले तत्काल कायम रहेको चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको ६६ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। उक्त हकप्रद जारी गर्न कम्पनीले बीमा प्राधिकरणसँग स्वीकृति पनि मागेको थियो। प्राधिकरणबाट स्वीकृति प्राप्त नहुँदै कम्पनीको १८ औँ वार्षिक साधारणसभाबाट ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत भएपछि कम्पनीले हकप्रदको आकार घटाएको हो।

एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटल मार्केट रहेको छ। विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij