काठमाडौं – राष्ट्रिय बीमा कम्पनी आज साउन १८ गतेबाट ११ औँ वर्षमा प्रवेश गरेको छ। नेपाल सरकारको मिति २०७१ वैशाख २३ गतेको निर्णयानुसार छुट्टै संगठित संस्थाको नाममा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा मिति २०७१ जेठ २८ गते दर्ता भई २०७१ साल साउन १८ गतेबाट कारोबार सञ्चालन भएको थियो। यो कम्पनीले आजबाट सञ्चालनको १० औँ वर्ष पूरा गरेको छ।
राष्ट्रिय बीमा कम्पनी ११ औँ वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्युटमा एक कार्यक्रम आयोजना गरी कम्पनीले ११ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको हो ।
कार्यक्रमको सभापतित्व कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्याय, प्रमुख अतिथीमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायतका अतिथी, सर्भेयर संघ, कर्मचारी लगायतका मानिसहरुको उपस्थितीमा वार्षिक उत्सव सम्पन्न भएको छ ।
वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बार–बार ताकेता गर्दा पनि चुक्ता पूँजी वृद्धिमा कुनै पनि कार्य नगरेका कारण कम्पनीको पोर्टफोलियो नै रोकिदिने चेतावनी दिएका छन् ।
सरकारी कम्पनी भनेर प्रोत्साहन दिदै गरेको भएर पनि सरकारी कम्पनीको नै ब्यवसाय खस्किदै गएको सिलवालले बताए । बीमाका कुनै पनि कुरा हावा तालमा नरहेको र नियामकले पनि सम्पुर्ण कुराको अध्ययन गरेर मात्र निर्देशिका जारी गर्ने गरेको सिलवालको भनाइ रहेको भनाइ रहेको छ ।
२०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रुपमा स्थापना भएको थियो। यो कम्पनीसँग पाँच दशकभन्दा लामो निर्जीवन बीमा व्यवसायको इतिहास रहेको छ।
कम्पनीले लामो व्यावसायिक यात्रामा सहकार्य गर्ने, सहयोग गर्ने तथा नागरिकको आफ्नो सम्पत्तिको सुरक्षाका लागि विश्वास गर्ने नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल बैंक, कर्मचारी सञ्चय कोष, महालेखा परीक्षकको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिस्ट्रारको कार्यालय, अन्य बैंक तथा वित्तीय संस्था, संस्थागत तथा व्यक्तिगत ग्राहक, अभिकर्ता, सर्भेयर, पुनर्बीमक र समग्र व्यावसायिक सहयोगीमा आभार व्यक्त गरेको छ। कम्पनीले आगामी दिनमा अझ भरपर्दो, स्तरीय र विश्वसनीय बीमा सेवा प्रदान गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij