नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ। बिहीबार एक कार्यक्रमबीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो।
नेपालमा पर्वतारोहणका लागि खुल्ला हिमालहरू (खासगरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान सञ्चालन गरिएको हो। नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैर-सरकारी संघ-संस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरूको सफा हिमाल अभियानमा साथ पाउनु खुसीको कुरा भएको बताए। उनले नेपाल लाइफले सामाजिक उत्तरदायित्वलाई सफा हिमाल अभियान नै छनौट गरी यसको स्टेकहोल्डर बन्नु सरहानीय भएको बताए।
नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीले विश्वमानचित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफा हिमालले सुन्दर देशका रुपमा परिचय कायम गर्न सहयोग गर्ने कुरालाई मनन गर्दै ‘सफा हिमाल अभियान २०२२’ मा हातेमालो गरेको प्रष्ट्याए। कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरी र नेपाली सेनाका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय जंगी अड्डाका सहायक रथी हिमांशु खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij