२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमाको म्युचुअल फण्ड खुल्यो

सानिमाको म्युचुअल फण्ड खुल्यो

635
Shares

सेयरमा मात्रै होइन, म्युचुअल फण्डमा पनि लगानी गरेर प्रतिफल पाउन सकिन्छ। म्युचुअल फण्डको मूल्य प्रतिइकाई १० रुपैयाँ हुन्छ। कम्तिमा १ सय इकाई अर्थात १ हजार रुपैयाँ लगानी गर्न सकिन्छ। थोरै रकम लगानी गरेर लाभ लिन चाहनेका लागि आजदेखि सानिमा म्युचुअल फण्डमा आवेदन खुलेको छ। ‘सानिमा लार्ज क्याप फण्ड’ नामको म्युचुअल फण्डमा छिटोमा माघ १३ गतेसम्म आवेदन दिन सकिन्छ।

सानिमा बैंकको कोष प्रवद्र्धनमा म्युचुअल फण्डको इकाई निष्कासन गर्न लागिएको हो। व्यवस्थापक सानिमा क्यापिटलका अनुसार ७ वर्षे अवधि रहने गरी कुल १ अर्ब रुपैयाँको १० करोड इकाई फण्ड जारी गरिनेछ। प्रतिइकाई १० रुपैयाँका दरले कम्तिमा १ सय कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्मको लगानी सानिमाको म्युचुअल फण्डमा गर्न सकिन्छ।

म्युचुअल फण्डमा लगानी गर्दा के छ फाइदा ?
म्युचुअल फण्डमा थोरै रकम (१ हजार रुपैयाँ) पनि लगानी गर्न सकिन्छ। थोरै थोरै पुँजी जुटाएर लगानी गर्ने उद्देश्यले नै यस्ता फण्ड जारी गरिन्छ। यस्ता फण्डको इकाई सेयर बजारमा पनि किनबेच गर्न पाइन्छ। सेयरमा लगानी गर्नेले कम्पनीको बारेमा धेरै जानकारी लिइरहनुपर्ने, वित्तीय स्थिति केलाइरहनुपर्ने, बजारको उतारचढासँग घुलमिल हुनुपर्ने हुन्छ। तर म्युचुअल फण्डमा लगानी गर्नेहरु यी कुनै विषयवस्तुमा चासो लिइरहनु पर्दैन।
थोरै रकम हुँदा सीमित सस्तो कम्पनीको सेयरमा मात्रै लगानी गर्न सकिन्छ। तर म्युचुअल फण्डमा लगानी गर्दा एकीकृत रुपमा ठूलो पुँजी जुट्छ र धेरै कम्पनीमा लगानी हुन्छ। लगानी विविधिकरण हुन गई जोखिम कम हुन्छ।

कसरी गर्ने त लगानी ?
जसरी हामीले प्राथमिक सेयर (आइपिओ)का लागि आवेदन दिन्छौं, त्यसैगरी म्युचुअल फण्डमा पनि आवेदन दिन सकिन्छ।

सिडिएससीको मेरो सेयरबाट वा आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ। धेरै आवेदन परेमा म्युचुअल फण्ड पनि आइपिओजस्तै बाँडफाँड हुन्छ।

आइपिओमाभन्दा म्युचुअल फण्डमा कम आवेदन पर्ने गरेका कारण प्राय हात खाली हुँदैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij