२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

1.1K
Shares

संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर गरिने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीलाई अपमानित हुने गरी मर्यादाक्रम राखिएको गुनासो आएपछि यसको समायोजन हुन लागेको हो ।सोमबार सम्पन्न अन्तरप्रदेश परिषदको बैठकमा पनि मर्यादाक्रमको विषयमा छलफल भएको थियाे । 

प्रदेश र स्थानीय तहका पदाधिकारीको आपत्तिपछि यसअघि नै मर्यादाक्रम समायोजन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगे पनि संघीय सरकारका मन्त्रीहरुको स्वार्थका कारण पारित हुन नसकेको आरोप लागेको थियो ।संघीय सरकारका मन्त्रीहरुले मुख्यमन्त्रीभन्दा आफ्नो बरियता माथि हुनुपर्ने भनेका छन् । तर, प्रधानमन्त्री ओली स्वयंले सबै प्रदेशसभाका बैठकमा सम्बोधन गर्ने क्रममै संघीय सरकारका मन्त्रीभन्दा मुख्यमन्त्रीको बरियता माथि राखेका थिए । अब सोही आधारमा मर्यादाक्रम निर्धारण हुन लागेको हाे।

गृहमन्त्रालय मार्फत अघि बढेको मर्यादाक्रम समायोजनको प्रस्ताव चाँडै पारित हुने आश्वासन प्रधानमन्त्रीले अन्तरप्रदेश बैठकमा दिएको स्रोतले जनाएको छ ।यसलाई मिलाउने क्रममा मुख्यमन्त्री र संघीय सरकारका मन्त्रीहरुको हैसियत बराबर हुने, तर प्रदेशमा जाँदा मुख्यमन्त्री माथि र केन्द्रमा संघीय सरकारका मन्त्री माथि रहने गरी मिलाउन लागिएको स्रोतले बतायो । 

त्यस्तै प्रदेशसभाका सदस्यहरुको मर्यादाक्रम नेपाल सरकारका विशिष्ठ श्रेणीका कर्मचारीसरह वा सो भन्दा माथि कायम गरिने गृहकार्य थालिएको छ । त्यस्तै प्रदेशसभाका सभामुखलाई संघीय संसदका सांसद सरहको मर्यादाक्रममा राखिने भएको छ ।एवं रीतले स्थानीय तहका जनप्रतिनिधिहरुको पनि मर्यादाक्रम हेरफेर गर्न लागिएको छ । गाउँपालिका अध्यक्षको मर्यादाक्रम नेपाल सरकारको उपसचिवभन्दा माथि राखेर समायोजन गर्न लागिएको हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij