
अर्थ नेपाल काठमाडौं / बिशाल ग्रुपले भारत गुजरातको फयुचर टायर उद्योगसँगको साझेदारीमा निजी क्षेत्रबाट पहिलो पटक नेपालमै टायरको उत्पादन थालेको छ । मोरङको कटहरी गाउँपालिकामा ग्रीन टायर उद्योगले निजी क्षेत्रबाट पहिलो पल्ट नेपालमा टायर उत्पादन थालेको हो ।
कटहरीको औद्योगिक करिडोरमा ३ बिगाहा क्षेत्रफलमा फैलिएको ग्रीन टायर उद्योगबाट चार प्रकारका टायर उत्पादन भइरहेकाछन् । तत्काल ट्रयाक्टरको अगाडिको टायरका साथै मोटरसाइकल, स्कुटी र ई–रिक्साका टायर उत्पादन गरिरहेको छ । पूर्णतः ट्युवलेस रहेको ग्रीन टायरका उत्पादनहरूमा ‘लिक्विड’ पनि हाल्नु पर्दैन । ‘लिक्विड’बाट हुने रासायनिक प्रतिक्रियाले टायर खिइँदै जाने र यसको आयु छोट्टिने समस्या हुन्छ ।
सुरुमा कम्पनीले ४ प्रकारका टयुवलेस वार्षिक २ लाख थान उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीका प्रबन्धक बिनित सिँघानियाले बताए । २ बर्षमा ४ र पाँच बर्षमा ६ लाख र त्यसपछि २० लाख थान उत्पादन गर्ने लक्ष्य कम्पनीको रहेको उनले जानकारी दिए । उनका अनुसार देशभरिका विभिन्न स्थानमा १ सय २० मोटरसाइकल तथा त्यत्तिकै संख्यामा ट्रयाक्टर, स्कुटी र थ्री ह्विलर्समा टायर जडान गरेर तीन महिनासम्म सबै प्रकारका परीक्षण सम्पन्न गरेपछि मात्र टायरलाई बजारमा पठाइएको छ ।
प्रबन्धक विनितका अनुसार ग्रीन टायरले डेल्टा र शेर्पा ब्रान्डका टायरहरू उत्पादन गर्नेछ । जसमध्ये पहिलो चरणमा डेल्टा ब्रान्डका टायर बजारमा ल्याई सकिएको छ ।
भारतमा मुकेश देसाईको नेतृत्वमा रहेको फ्युचर टायर्स प्रा.लि. त्यहाँका ठूला टायर उद्योगमध्ये एक मानिन्छ । यस उद्योगले आफ्नो ६० प्रतिशतभन्दा बढी उत्पादन भारतकै (सेट) ब्रान्डको टायर उद्योगलाई आपूर्ति गर्दै आएको छ ।
ग्रीन टायरले कच्चा पदार्थ भारतबाट आयात गरिरहेको छ । तर सिङ्गापुर, मलेसिया र अफ्रिकाको ग्याभोनबाट पनि कच्चा पदार्थ पैठारी गर्न सकिन्छ । यसैले कच्चा पर्दाथकालागि भारतको मात्र भरपर्नुपर्ने बाध्यता उद्योगलाई छैन । सस्तोमा तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गर्न सकेमा उत्पादित टायरहरु भारतीय बजारमा पनि निर्यात गर्न सकिने संभावना उच्च छ ।
विशाल ग्रुपले सिँघानिया परिवारसितको साझेदारीमा विगत ४० वर्षदेखि टायरको आयात गरिरहेको थियो । त्यसैले नेपालमै टायर उद्योग स्थापना गरेर उत्पादन गर्ने धोको बिशाल ग्रुप र साझेदार घराना सिँघिनियाको थियो । टायर उद्योगको बजारबारे राम्रो जानकार भएकोले नेपालमै टायर उद्योग खोल्ने सपना पुरा भएको प्रबन्धक बिनितले बताए । आगामी दिनमा भारतीय लगानीमै ब्याट्री र लुब्रिकेन्ट उद्योग पनि सञ्चालनमा ल्याउने योजना विशाल ग्रुपको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij