२०८३ मंसिर १४ आइतबार

Nov 29 2026 Sunday

नेपाल राष्ट्र बैंकले ल्याउँदै ५ रुपैयाँका १५ करोड नयाँ सिक्का

नेपाल राष्ट्र बैंकले ल्याउँदै ५ रुपैयाँका १५ करोड नयाँ सिक्का

165
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका १५ करोड थान नयाँ सिक्का उत्पादन तथा आपूर्तिका लागि प्रक्रिया अघि बढाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टकमरी र आपूर्तिका लागि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराउँदै योग्य कम्पनीबाट प्रस्ताव माग गरेको हो ।

राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै यसअघि नै पूर्वयोग्यताको सूचीमा परेका अन्तर्राष्ट्रिय सुरक्षा मुद्रण तथा सिक्का उत्पादन कम्पनीहरू मात्र योग्य हुने जनाएकाे छ।

यसका लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको छ । इच्छुक पूर्वयोग्य कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी गरी एउटै बाहिरी खाममा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

इच्छुक कम्पनीले आगामी डिसेम्बर २८ सम्म राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार महाशाखाबाट आवश्यक कागजात प्राप्त गर्न सक्नेछन् । आवश्यक कागजात र बैंक भौचर पेस गरी इमेलमार्फत पनि बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । कागजातका लागि नेपाली रुपैयाँ २० हजार, अमेरिकी डलर १३२ वा युरो ११८ शुल्क तोकिएको छ । यो शुल्क फिर्ता हुने छैन ।

राष्ट्र बैंकले डिसेम्बर ११ मा दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठकसमेत राखेको छ । प्रस्ताव पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ गते दिउँसो १२ बजेसम्म तोकिएको छ । सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिनेछ । निर्धारित समयपछि प्राप्त हुने प्रस्ताव स्वीकार गरिने छैन ।

प्रस्ताव पेस गर्ने कम्पनीले कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँमा बैंक जमानत पेस गर्नुपर्नेछ । नेपाली रुपैयाँमा जमानत पेस गर्दा सूचना जारी भएको दिनको राष्ट्र बैंकको बिक्री विनिमय दरका आधारमा रकम निर्धारण हुनेछ । प्रस्तावको मान्य अवधि १२० दिन रहनेछ भने बैंक जमानत त्यसपछि थप ३० दिनसम्म कायम हुनुपर्नेछ । सूचनाअनुसार जमानतको अन्तिम म्याद २८ मे २०२७ सम्म हुनेछ ।

सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेका कम्पनी तथा त्यस्ता कम्पनीका सञ्चालक वा लगानीकर्ताले स्थापना गरेका नयाँ कम्पनीहरू यस प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij