काठमाडौं – भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पुस १४ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले पोखराको घारीपाटनस्थित आब्या क्लबमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू स्वीकृत गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को खुद तथा सञ्चित मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यसअनुसार ८ करोड १३ लाख ८८ हजार ७८८ रुपैयाँ बराबरको बोनस शेयर जारी गरिनेछ ।
त्यसैगरी बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ४२ लाख ८३ हजार ६२० रुपैयाँ ४२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । उक्त नगद लाभांश कम्पनीको चुक्ता पुँजीको ०.६३ प्रतिशत बराबर हो ।
सभामा कम्पनीको अधिकृत पुँजी ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेस हुनेछ । हालको पुँजी संरचनामा संशोधन गरी जारी तथा चुक्ता पुँजी दुवै ७५ करोड ९६ लाख २८ हजार ६८८ रुपैयाँ कायम गर्ने विशेष प्रस्तावसमेत रहेको छ ।
यसैगरी सञ्चालक समितिका अध्यक्षलाई उपलब्ध गराइएको तलब तथा भत्ता अनुमोदन गर्ने, सञ्चालक समितिले नियुक्त गरेका दुई जना सञ्चालकको नियुक्ति स्वीकृत गर्ने र चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेस हुनेछन् ।
कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि मंसिर २५ गते एक दिन शेयर दाखिला खारेज किताब बन्द गर्ने जनाएको छ । त्यसअनुसार मंसिर २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई सोहीअनुसार आफ्नो नाममा शेयर नामसारी गराएका शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन पाउनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij