काठमाडौँ – नेपाल र भारतबीच विकास सहायता, ऊर्जा, रेल तथा हवाई सम्पर्क, पारवहन, शिक्षा र सीमा व्यवस्थापनसहितका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको उच्चस्तरीय वार्तापछि सोमबार जारी २४ बुँदे संयुक्त वक्तव्यमा विभिन्न परियोजना र द्विपक्षीय सहकार्यका विषय समेटिएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि सार्वजनिक वक्तव्यअनुसार भारतले नेपाललाई कुल १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहनेछ।
अनुदान सहायता रसुवा-भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार निर्माणका लागि उपलब्ध गराइनेछ। ऊर्जा क्षेत्रका परियोजनामा भने सहुलियतपूर्ण ऋण परिचालन गर्ने समझदारी भएको छ। भारतको अनुदान सहयोगमा चितवनमा कृषि-औद्योगिक पार्क स्थापना गर्ने घोषणालाई पनि दुवै पक्षले स्वागत गरेका छन्।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पहिलो भारत भ्रमणमा शाह र मोदीले ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा दृष्टिकोण अघि सारेका छन्। दुई देशबीच आठवटा समझदारीपत्रसमेत आदानप्रदान भएका छन्।
रक्सौल-काठमाडौँ रेलमार्गको सर्वेक्षण अन्तिम चरणमा, अयोध्या-जनकपुर रेल सेवा सुरु
दुई देशबीच रेल सम्पर्क विस्तार गर्ने विषयले पनि प्राथमिकता पाएको छ। प्रस्तावित रक्सौल-काठमाडौँ विद्युतीकृत ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षणले अन्तिम रूप पाएको संयुक्त वक्तव्यमा उल्लेख छ। नेपालको पूर्व-पश्चिम रेलमार्ग निर्माणमा समेत भारतसँग सहकार्य गर्ने सहमति भएको छ।
भ्रमणकै क्रममा प्रधानमन्त्री शाह र मोदीले अयोध्या तथा जनकपुरधामबीच सञ्चालन हुने ‘सरयु-कमला एक्सप्रेस’ रेल सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका छन्। उक्त सेवाबाट रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धन हुने दुवै देशको अपेक्षा छ।
यससँगै बुद्ध र शिव-शक्ति पर्यटन सर्किटमा पनि यस्तै यातायात सम्पर्क विस्तारका सम्भावना खोजिने भएको छ।
काठमाडौँ-भैरहवा-लखनऊ हवाई मार्ग दुईतर्फी बनाइने
नेपाल र भारतबीच हवाई सम्पर्क विस्तार गर्ने विषयमा पनि सहमति भएको छ। हाल एकतर्फी रहेको बी-३४५ काठमाडौँ-भैरहवा-लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने निर्णय गरिएको हो।
पारवहन सुविधातर्फ नेपालले भारतको गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) हुँदै नयाँ सम्पर्क मार्ग प्रयोग गर्न पाउने भएको छ।
भारतको ओडिशास्थित पारादीप बन्दरगाहसम्मको पहुँच भने आवश्यक पूर्वाधार तयार भएपछि उपलब्ध गराइने संयुक्त वक्तव्यमा उल्लेख छ।
तल्लो अरुणको शिलान्यास, पञ्चेश्वरको डीपीआर टुङ्ग्याउन निर्देशन
ऊर्जा क्षेत्रमा दुई देशबीचका आयोजनालाई अघि बढाउने विषयमा पनि सहमति भएको छ। प्रधानमन्त्री शाह र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन्।
लामो समयदेखि छलफलमा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चाँडै टुङ्ग्याएर कार्यान्वयन अघि बढाउन सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ।
सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर तयारीलाई पनि गति दिने सहमति भएको छ।
सीमापार विद्युत् व्यापारका लागि आवश्यक इनरुवा-न्यु पूर्णिया र दोदोधारा-बरेली उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम गठन गर्ने प्रक्रियामा भइरहेको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्।
पेट्रोलियम पाइपलाइन विस्तार, ग्यास पाइपलाइनको सम्भावना अध्ययन
पेट्रोलियम पूर्वाधार विस्तारअन्तर्गत मोतिहारी-अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको छ।
झापामा निर्माण हुने पेट्रोलियम टर्मिनलको शिलान्याससमेत गरिएको छ। सिलिगुडी-झापा पाइपलाइनको निर्माण कार्य शीघ्र अघि बढाउने सहमति भएको छ।
नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणको सम्भावना पहिचान गर्ने विषय पनि संयुक्त वक्तव्यमा समेटिएको छ।
दार्चुलामा मोटरेबल पुल उद्घाटन, वनबासामा आईसीपी शिलान्यास
सीमापार पूर्वाधार विस्तारअन्तर्गत दार्चुला र भारतको धार्चुलालाई जोड्ने नयाँ मोटरेबल पुलको दुवै प्रधानमन्त्रीले उद्घाटन गरेका छन्।
भारतको वनबासामा निर्माण हुने एकीकृत जाँच चौकी (आईसीपी) को भर्चुअल माध्यमबाट शिलान्याससमेत गरिएको छ।
भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिबारे पनि दुई देशबीच समीक्षा भएको छ। यी पूर्वाधारको निर्माण प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्।
नेपालमा आईआईटी क्याम्पस स्थापना गर्ने सहमति
शिक्षा तथा प्रविधिका क्षेत्रमा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को वैदेशिक क्याम्पस स्थापना गर्ने विषयमा सहमति जुटेको छ।
नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धि र रोजगारी सिर्जनालाई लक्षित गर्दै आईआईटीको अफ-शोर क्याम्पस खोल्ने विषय अघि बढाइएको हो।
दुई देशबीच स्टार्टअप, डिजिटल सम्पर्क तथा वित्तीय सेवामा सहकार्य विस्तार गर्ने विषय पनि संयुक्त वक्तव्यमा समावेश छ।
एक देशमा बसोबास गर्ने अर्को देशका नागरिकलाई बैंकिङ र दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने सहमतिसमेत भएको छ।
बाँकी सीमा समस्या समाधानमा परराष्ट्र सचिवहरूलाई जिम्मेवारी
नेपाल र भारतबीच बाँकी रहेका सीमासम्बन्धी विषयमा काम अघि बढाउने जिम्मेवारी दुवै देशका परराष्ट्र सचिवहरूलाई दिइएको छ।
सीमा स्तम्भहरूको मर्मतसम्भारमा हालसम्म भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै दुई प्रधानमन्त्रीले बाँकी विषयमा सम्बन्धित संयन्त्रमार्फत काम गर्न निर्देशन दिएका हुन्।
प्रहरी प्रशिक्षणदेखि सरकारी कर्मचारीको क्षमता विकाससम्म आठ समझदारी
भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी पत्र आदानप्रदान भएका छन्।
प्रहरी अनुसन्धान तथा विधि विज्ञानका क्षेत्रमा भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीबीच सहकार्य गर्ने समझदारी भएको छ। त्यसैगरी, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच प्रशिक्षणसम्बन्धी सहकार्य अघि बढ्नेछ।
सरकारी अधिकारीहरूको क्षमता विकासका लागि निजामती कर्मचारी प्रशिक्षणमा समेत दुई देशबीच सहमति भएको छ। आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीमा सहकार्य विस्तार गर्ने समझदारी पनि गरिएको छ।
अन्तरिक्ष प्रविधितर्फ भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सञ्चार मन्त्रालयबीच दक्षिण एसियाली भू-उपग्रह उपयोगसम्बन्धी समझदारी भएको छ।
यसैगरी, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा सेवा र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा पनि सहकार्य गर्ने समझदारी भएको संयुक्त वक्तव्यमा उल्लेख छ।
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीचको उच्चस्तरीय वार्तापछि जारी २४ बुँदे संयुक्त वक्तव्यमा विकास सहायता, पूर्वाधार निर्माण, ऊर्जा तथा यातायात सम्पर्क विस्तारसँगै शिक्षा, प्रशासनिक क्षमता विकास र प्राविधिक सहकार्यका विषय समेटिएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij