२०८३ मंसिर १४ आइतबार

Nov 29 2026 Sunday

पर्यटन बोर्डको सीईओ बन्न ११ जनाबीच प्रतिस्पर्धा

पर्यटन बोर्डको सीईओ बन्न ११ जनाबीच प्रतिस्पर्धा

30
Shares

काठमाडौं- नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदका लागि ११ जना उम्मेदवार छनोट भएका छन् । सुरुमा छनोट भएका १६ जनामध्ये पाँच जना बाहिरिएपछि ११ जनाको सूची तयार भएको हो ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदमा नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा (५) बमोजिम रणनीतिक कार्ययोजनामा आधारित छनोट प्रक्रिया सञ्चालन गरिएको थियो । उक्त प्रक्रियाअन्तर्गत पर्यटन क्षेत्रका विभिन्न समस्या समाधानसम्बन्धी परीक्षणमा उच्च अंक प्राप्त गर्ने ११ जना उम्मेदवार छनोट भएका हुन् ।

छनोट हुने उम्मेदवारमा चितवनका आशुतोष प्रधान र उत्तम प्रसाद देवकोटा, इलामका टेक बहादुर महत, मोरङका नोजल कोइराला र काठमाडौंकी युविका भण्डारी रहेका छन् ।

त्यसैगरी भक्तपुरका रोहिणी प्रसाद खनाल, दाङका लक्ष्मण गौतम, ताप्लेजुङकी श्रद्धा श्रेष्ठ, रुपन्देहीका श्री प्रसाद भट्टराई, बैतडीका सुरेश सिंह बुडाल र कञ्चनपुरका हिकमत सिंह ऐर पनि छनोट भएका छन् ।

यसअघि गत कात्तिक २० गते सार्वजनिक १६ जनाको प्रारम्भिक सूचीमा रहेका धर्मराज दवाडी (चितवन), राजाराम के.सी. (काठमाडौं), रामचन्द्र सेढाईं (गोरखा), विनोद अर्याल (पाल्पा) र सन्तोष विक्रम थापा (काठमाडौं) भने पछिल्लो छनोटमा पर्न सकेनन् ।

 

छनोट समितिले ११ जनाबाट सात जना र त्यसपछि सात जनाबाट तीन जना उम्मेदवार छनोट गरी कार्यकारी समितिमा सिफारिस गर्नेछ । सोही प्रक्रियापछि तीन जनामध्येबाट एक जनालाई नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखमा नियुक्त गरिनेछ ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पद गत वैशाख १९ गतेदेखि रिक्त छ । राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेशमार्फत तत्कालीन कार्यकारी प्रमुख दीपकराज जोशीलाई सरकारले पदबाट हटाएपछि बोर्डको नेतृत्व रिक्त भएको हो । त्यसयता निमित्त नेतृत्वबाट बोर्डको प्रशासनिक काम सञ्चालन हुँदै आएको छ ।

नेपाल पर्यटन बोर्डको सीईओ पदका लागि कुल ४२ जनाले आवेदन दिएका थिए । तीमध्ये ३१ जनाले बोर्डको कार्यालयमा भौतिक रूपमा र ११ जनाले इमेलमार्फत आवेदन दिएका थिए । एक जनाले भने दुवै माध्यमबाट आवेदन दिएको विवरण सार्वजनिक भएको थियो ।

प्राप्त आवेदनमध्ये प्रारम्भिक मूल्याङ्कनपछि बोर्डको कार्यकारी प्रमुख छनोट उपसमितिले १६ जनालाई पहिलो चरणको संक्षिप्त सूचीमा समावेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij