२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

दीपक भट्टको मुद्दामा सर्वोच्च अदालतले मगायो विशेष र उच्च अदालतको फाइल

दीपक भट्टको मुद्दामा सर्वोच्च अदालतले मगायो विशेष र उच्च अदालतको फाइल

225
Shares

काठमाडौं- सर्वोच्च अदालतले दिपक भट्टको बन्दी प्रत्यक्षीकरणको रिटमा विशेष र उच्च अदालतबाट मिसिल झिकाउने आदेश गरेको छ। बुधबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विशेष अदालत र उच्च अदालतबाट मिसिल झिकाउन आदेश गरेको हो।

आदेशमा विशेष अदालतमा रहेको भट्टको सम्पत्ति शुद्धीकरण मुद्दाको प्रमाण मिसिल पेसीको दिनमा ल्याउन भनिएको छ। त्यस्तै, उच्च अदालत पाटनबाट बैंकिङ कसुरको सम्बन्धित मिसिल ल्याउन पनि भनिएको छ।

यसरी ल्याउन भनिएको मिसिल त्यही दिन देखाएर फिर्ता लगिने छ। दिपकका बुबा चतुर्भुज भट्टले आफ्ना छोरालाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा असोज ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले सरकारसँग लिखित जबाफ माग गरेको थियो। भट्टमाथि सम्पत्ति शुद्धीकरण, बीमा ऐनसम्बन्धी कसुर, बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर र विदेशी विनिमय ऐनसम्बन्धी कसुर गरेको आरोप छ।उनीविरूद्ध केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण विभागले छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए।

उनीविरूद्ध विशेष अदालत, उच्च अदालत र जिल्ला अदालत काठमाडौंमा छुट्टाछुट्टै मुद्दा दायर गरिएका छन्। भट्ट हाल सिन्धुपाल्चोक कारागारमा छन्। यसअघि उनलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार सरूवा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij