२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

गोरखामा डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न

गोरखामा डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न

325
Shares

गोरखा – ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक भूमि गोरखामा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक भव्यताका साथ सम्पन्न भएको छ। कार्तिक १३ र १४ गते दुई दिनसम्म सञ्चालन भएको बैठकमा डिष्ट्रिक्टका लायन्स लिडर, पूर्व गभर्नर, विभिन्न क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बैठकको पहिलो दिन बिजनेस सेसन सञ्चालन गरिएको थियो। उक्त सेसनमा डिष्ट्रिक्टको संगठनात्मक अवस्था, चालु वर्षका कार्यक्रम, सेवा गतिविधि, सदस्यता विस्तार, भावी कार्ययोजना तथा विभिन्न महत्वपूर्ण विषयमा विस्तृत छलफल गरिएको थियो। त्यसैगरी दोस्रो दिन प्लेनरी सेसन आयोजना गरिएको थियो।

पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानको प्रमुख आतिथ्यतामा सम्पन्न प्लेनरी सेसनमा आईपिएमसिसी लायन मिलन थापा, मल्टिपल डिष्ट्रिक्ट कोअर्डिनेटर लायन हरि प्रसाद मरहट्टा, आईपिडिजी लायन मिलन बाबु मल्ल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन कुश प्रसाद मल्ली, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन कृष्ण प्रसाद शर्मा, पिडिजी लायन ध्रुब थापा लगायत सिनियर लायन्स लिडर तथा क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो।

प्लेनरी सेसनमा प्रमुख अतिथि पिआईडी लायन सञ्जय खेतानले डिष्ट्रिक्ट ३२५ जे ले गरेका उत्कृष्ट कार्यहरुको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन अनुरोध गरे । उनले सदस्यता वृद्धिमा अझ ध्यान दिन आग्रह गरे । अन्य वक्ताहरुले लायन्सको सेवा अभियान, संगठनात्मक सुदृढीकरण, नेतृत्व विकास, सदस्यता विस्तार तथा आगामी दिनमा डिष्ट्रिक्टले अघि बढाउनुपर्ने कार्यक्रमका विषयमा धारणा राख्दै सबैलाई लायन्सको मूल भावना सेवा, सहकार्य र मानवीय उत्तरदायित्वलाई व्यवहारमा उतार्दै समाजका आवश्यकतासँग जोडिएर काम गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा जुलाई, अगस्ट तथा सेप्टेम्बर महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न लायन्स लिडरहरूलाई अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। लायन्स सेवाका विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अन्य लायन्स लिडरहरूलाई समेत विभिन्न पिन प्रदान गरी सम्मान गरिएको थियो। यसै अवसरमा पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित हुन सफल लायन शोभा गौतमलाई विशेष सम्मान गरिएको थियो। लायन्स अभियानमा आबद्ध व्यक्तिहरूले सामाजिक तथा व्यावसायिक क्षेत्रमा हासिल गरेको सफलता र नेतृत्व क्षमताको सम्मान गर्ने उद्देश्यले उक्त सम्मान प्रदान गरिएको हो।

लायन्स क्लब अफ गोरखा कालिकाको संयोजनमा सम्पन्न बैठकलाई गोरखा क्षेत्रका सम्पूर्ण लायन्स क्लबहरूले विशेष सहयोग र समन्वय गरेका थिए। कार्यक्रम संयोजकको रूपमा डिष्ट्रिक्ट चिफ लायन भगवान बाबु मास्के तथा आयोजक क्लबका अध्यक्ष लायन प्रेमिता श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

दुई दिनसम्म चलेको उक्त बैठकलाई भव्य, सभ्य र व्यवस्थित बनाउन आयोजकले आतिथ्य सत्कार, आवास, भोजन, यातायात, मञ्च व्यवस्थापन, सुरक्षा तथा अन्य व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिएको थियो। गोरखाका लायन्स सदस्यहरूले देखाएको सक्रियता, आत्मीयता र सामूहिक सहकार्यले बैठकलाई थप स्मरणीय बनाएको सहभागीहरूले बताएका छन्।

बैठक सफल बनाउन सक्रिय सबैलाई धन्यवाद व्यक्त गर्दै डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बास्तोलाले आयोजक गोरखा क्षेत्रका सम्पूर्ण लायन्स क्लब, चिफ गभर्नर एड लायन अच्युतलाल श्रेष्ठ , कार्यक्रम निर्देशक, आयोजक क्लबका अध्यक्ष, लायन्स लिडर, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, विभिन्न संघसंस्था, व्यवसायी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्पूर्ण गोरखावासीप्रति धन्यवाद दिए ।

गोरखामा सम्पन्न दोस्रो क्याबिनेट बैठकले डिष्ट्रिक्टको संगठनात्मक एकता, आपसी सम्बन्ध र सेवामूलक अभियानलाई थप ऊर्जा प्रदान गर्नुका साथै लायन्स सदस्यहरूबीच आत्मीयता र सहकार्यको भावना अभिवृद्धि गरेको विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij