२०८३ असोज २७ मंगलबार

Oct 13 2026 Tuesday

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

225
Shares

कास्की- वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ ।

पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक÷एक हजार भेडाच्याङग्रा पोखरा ल्याइसकिएको छ । अझै केही भेडाच्याङग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक–दुई दिन अगाडिसम्म बजारमा आइपुग्ने उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ । पशु चिकित्सक अधिकारीले भन्नुभयो“दशैँका लागि पोखरामा भेडाच्याङग्रा आइसकेका छन् । कतिपय व्यापारीले हाटबजारमा ल्याइसकेका छन् भने धेरैले पोखरावरपरका चरन क्षेत्रमा राखेका छन् । ती भेडाच्याङग्रा एक–दुई दिनमा हाटबजारमा ल्याउने जानकारी पाएका छौँ ।”

यसैबीच, पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालय पोखराको संयुक्त टोलीले भेडाच्याङग्राको स्वास्थ्य अवस्था तथा बिक्री वितरणको अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा अधिकांश भेडाच्याङग्रा स्वस्थ पाइएको टोलीले जनाएको छ । फूलपातीका दिनसम्म निरन्तर अनुगमन गरिने जनाइएको छ ।

व्यापारीले भेडाच्याङग्रा ल्याउने क्रममा सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयबाट भेटेरिनरी निरीक्षकले स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र दिएपछि ढुवानी गर्ने व्यवस्था रहेको छ । अनुगमनका क्रममा बिरामी पशु भेटिएमा अन्य पशुबाट अलग राख्न आइसोलेसनको व्यवस्था गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख डा ग्रिष्म न्यौपानेले चाडपर्वका समयमा धेरै संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था, रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर संयुक्त अनुगमन गरिएको बताउनुभयो । उहाँले उपभोक्तालाई भेडाच्याङग्रा खरिद गर्दा स्वास्थ्य अवस्थाबारे ध्यान दिन आग्रह गर्नुभयो । सामान्य अवस्थामा श्वासप्रश्वासको गति नबढेको, ¥याल नकाढेको र चिल्लो रौँ भएको च्याङ्ग्रा छनोट गर्न उहाँको सुझाव छ । “लामो समय हिँडाएर वा गाडीमा ल्याइएका भेडाच्याङग्रालाई एक–दुई दिनअघि नै खरिद गरेर लैजानु र बध गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि घरमा ल्याउनु राम्रो हुन्छ ।” डा. न्यौपानेले भन्नुभयो ।
पोखराको हाटबजारमा च्याङग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँसम्म र भेडा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको महानगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका च्याङग्राको मासुको माग दशैँका बेला पोखरा तथा आसपासका क्षेत्रमा उच्च हुने गर्दछ । पोखरामा भेडाच्याङ्ग्राका अतिरिक्त सुर्खेत, अर्घाखाँची, दाङ, पाल्पा र तनहुँलगायतका जिल्लाबाट समेत ठूलो संख्यामा खसीबोका ल्याएर बिक्री गर्ने गरिन्छ । मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट ११ दिन लगाएर च्याङग्रा पोखरा ल्याइपु¥याएको बताउनुभयो । उहाँका अनुसार केही स्थानमा पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर ल्याइएको हो । यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाइ भोग्नुपरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “यसपटक कहिले पानीले सतायो, कहिले बाढीले समस्या भयो । पहिले बजार राम्रो थियो, अहिले बजार पनि राम्रो छैन ।” बाटोमा विभिन्न स्थानीय तह तथा पशु सेवा कार्यालयमा तिर्नुपर्ने शुल्क र चरनका लागि समेत रकम खर्च गर्नुपर्ने भएकाले च्याङग्राको मूल्य महँगो पर्ने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij