२०८३ असोज २७ मंगलबार

Oct 13 2026 Tuesday

माउण्टेन इनर्जीद्वारा लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर प्रस्ताव, कार्तिक २० मा साधारणसभा

माउण्टेन इनर्जीद्वारा लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर प्रस्ताव, कार्तिक २० मा साधारणसभा

305
Shares

काठमाडौं – माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा यति नै लाभांश वितरण गरेको थियो। कम्पनीले लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९.०८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको प्रति शेयर आम्दानी २५.५२ रुपैयाँ कायम भएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत बोनस दिएर पुँजी थप गर्दा पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको प्रति शेयर आम्दानी कायम गर्न सफल भएको छ।

कम्पनीले साधारणसभा पनि आह्वान गरेको छ। कम्पनीले कार्तिक २० गते शुक्रबार भाटभटेनी स्थित आम्रपाली ब्यान्क्वेटमा साधारणसभा गर्ने भएको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

साधारणसभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि प्रस्तुत हुनेछन्। साधारणसभाले ५ जना संचालकको निर्वाचन पनि गर्ने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार कार्तिक ९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि नियमित लाभांश वितरण गरिरहेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछि भने कम्पनीले बोनस शेयरमा जोड दिएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा समान १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। पुँजी बढ्दै जाँदा पनि कम्पनीले लगातार चौथो वर्ष दोहोरो डिजिटको लाभांश वितरण गर्न सफल भएको छ।

कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ। कम्पनीले सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि मार्फत ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजना निर्माण थालेको छ । आयोजनाको लागि गत साउनमा वित्तीय व्यवस्थापन सम्पन्न भईसकेको छ ।

मनाङमा निर्माण हुने यस आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रहेको छ। प्रति मेगावाट लागत २० करोड भन्दा पनि कम रहेकोले यस योजनालाई आकर्षक मानिएको छ। आयोजनामा एनएमबि बैंक र सानिमा बैंकले १०.०१ अर्ब लगानी गर्ने छन् भने बाँकी रकम प्रबर्दक कम्पनीले लगानी गर्ने छ। निर्माण थालेको ३ वर्षभित्रमा विद्युत उत्पादन थालिसक्ने कम्पनीको लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij