काठमाडौं ।-रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गर्दै यसको पोर्टफोलियो विस्तार गरेको छ । कम्पनीले नयाँ भेरियन्ट टार्माक ब्ल्याक र टप भेरियन्टमा मुम्बई येलो तथा मुनसट ह्वाइट गरी दुई नयाँ रङ थप गरेको हो ।
नयाँ भेरियन्टमार्फत हन्टर ३५० को अनुभव थप फराकिलो ग्राहक वर्गसम्म पुर्याउने लक्ष्य कम्पनीले लिएको छ । नयाँ भेरियन्टमा एलोय ह्विल, परिष्कृत राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएसजस्ता सुविधाहरू समावेश छन् ।
नेपालमा सन् २०२५ मा सार्वजनिक भएयता हन्टर ३५० ले हलुका तथा चुस्त राइडिङ चरित्र, कम्प्याक्ट बनावट र नियो–रेट्रो डिजाइनमार्फत नयाँ पुस्ताका राइडरलाई लक्षित गर्दै आएको कम्पनीले जनाएको छ । सहज ह्यान्डलिङ, प्रयोगमैत्री कार्यसम्पादन र फरक पहिचानका कारण मोटरसाइकललाई आफ्नो व्यक्तिगत शैलीसँग जोड्न चाहने राइडरका लागि हन्टर ३५० लक्षित रहेको कम्पनीको भनाइ छ ।
नयाँ टार्माक ब्ल्याक भेरियन्टलाई हन्टर ३५० को प्रवेश बिन्दुलाई थप पहुँचयोग्य बनाउने गरी तयार गरिएको छ । यसमा मध्य र टप भेरियन्टका केही विशेषता समावेश गरिए पनि विभिन्न भेरियन्टबीच स्पष्ट अन्तर कायम गरिएको कम्पनीले जनाएको छ ।
नयाँ भेरियन्टमा दैनिक प्रयोगलाई लक्षित एलोय ह्विल, हन्टरको नियो–रेट्रो चरित्रसँग मेल खाने गोलाकार हलोजन हेडलाम्प, डिजि–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर र रोटरी स्विचगियर राखिएको छ । त्यस्तै, स्टिच्ड सिट, स्पोर्टी ग्राब रेल, सिंगल च्यानल एबीएस तथा स्लिप एन्ड असिस्ट क्लच पनि उपलब्ध छन् ।
टप भेरियन्टमा थपिएका मुम्बई येलो र मुनसट ह्वाइट रङले हन्टर ३५० मा नयाँ स्वरूप थप्ने कम्पनीले जनाएको छ । मुम्बई येलो रङ मुम्बईको बलिउड, कला र निरन्तर गतिशीलताबाट प्रेरित रहेको बताइएको छ । मुनसट ह्वाइट भने ओरायन अर्थात् आकाशीय शिकारीबाट प्रेरित अवधारणामा तयार गरिएको हो । यसमा हातले तयार गरिएका ग्राफिक्स तथा आकाशीय तत्व प्रयोग गरिएको कम्पनीको भनाइ छ ।
नयाँ हन्टर ३५० सार्वजनिक गर्दै रोयल इन्फिल्डका प्रमुख वाणिज्य अधिकृत यादविन्दर सिंह गुलरियाले नेपालमा हन्टर ३५० नयाँ पुस्ताका राइडरमाझ स्थापित हुँदै गएको बताए । डिजाइन, चुस्त ह्यान्डलिङ र दैनिक प्रयोगमा सहजताले यसको आकर्षण बढाएको उल्लेख गर्दै उनले नयाँ भेरियन्टमार्फत थप राइडरसम्म हन्टर ३५० को विशेषता पुर्याउन खोजिएको बताए । नयाँ मुम्बई येलो र मुनसट ह्वाइट रङले राइडरलाई आफ्नो व्यक्तिगत शैली अभिव्यक्त गर्ने थप विकल्प दिने उनको भनाइ छ ।
नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले पनि हन्टर ३५० ले नेपाली राइडरमाझ छुट्टै पहिचान बनाएको बताए । नयाँ भेरियन्ट र दुई नयाँ रङले ग्राहकलाई हन्टर ३५० को पोर्टफोलियोमा थप विकल्प उपलब्ध गराउने उनले उल्लेख गरे ।
नयाँ हन्टर ३५० टार्माक ब्ल्याकको मूल्य चार लाख ८७ हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै, टप भेरियन्टको मुम्बई येलो र मुनसट ह्वाइट रङको मूल्य पाँच लाख ११ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । दुवै मूल्य नेपालका लागि एक्स–शोरुम मूल्य हुन् ।
नयाँ भेरियन्ट तथा रङको बुकिङ र बिक्री भदौ ३१ गतेदेखि नेपालभर रहेका रोयल इन्फिल्डका आधिकारिक डिलरमार्फत सुरु भएको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij