२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

भोटेकोसी बाढीपीडितका लागि नेपाल पुलिस स्कुल सामाखुसीका शिक्षक-कर्मचारीको दुई दिनको पारिश्रमिक सहयोग

भोटेकोसी बाढीपीडितका लागि नेपाल पुलिस स्कुल सामाखुसीका शिक्षक-कर्मचारीको दुई दिनको पारिश्रमिक सहयोग

570
Shares

काठमाडौं । भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल पुलिस स्कुल, सामाखुसीका शिक्षक तथा कर्मचारीले दुई दिनको पारिश्रमिक सहयोग गरेका छन्।
नेपाल सरकारको आह्वानमा ऐक्यबद्धता जनाउँदै स्कुलका एकेडेमिक स्टाफ (शिक्षक तथा कर्मचारी) ले आफ्नो दुई दिनको पारिश्रमिकबाट संकलित रु. १ लाख १५ हजार ७ सय ४१ रुपैयाँ ३२ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
विपद्बाट भएको ठूलो क्षतिको तुलनामा सहयोग रकम सानो भए पनि कठिन समयमा पीडित नागरिकको दुःखमा साथ दिने मानवीय संवेदना र सामूहिक जिम्मेवारीको भावनालाई यस सहयोगले उजागर गरेको स्कुलले जनाएको छ।
सबैले आ–आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्दै अघि बढेमा जुनसुकै विपत्तिको सामना गर्न सकिने तथा मानवीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने विश्वाससमेत स्कुलले व्यक्त गरेको छ।
यसैबीच, भोटेकोसी बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति नेपाल पुलिस स्कुलले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, विपद्मा परी बेपत्ता भएकाहरूको यथाशीघ्र सत्यतथ्य पत्ता लागोस् तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij