२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफको एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण सम्पन्न

सिटिजन लाइफको एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण सम्पन्न

695
Shares

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीका आधारभूत शेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने तथा उपनिर्देशक पदम प्रसाद सोडारीले सहजीकरण गरेका थिए । कार्यक्रममा वित्तीय अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड, नियामकीय अपेक्षा र बीमा क्षेत्रको भूमिका सम्बन्धमा विस्तृत प्रस्तुतीकरण दिइएको थियो।

कार्यक्रममा सञ्चालक समिति, आधारभूत शेयरधनी तथा उच्च व्यवस्थापनको भूमिका र जिम्मेवारी, AML/CFT नीति तथा कार्यविधिको स्वीकृति र कार्यान्वयन, जोखिममा आधारित दृष्टिकोणको अवलम्बन, संस्थागत जोखिम मूल्याङ्कन, सुशासन तथा प्रभावकारी निगरानी प्रणाली, AML जोखिम नियन्त्रणका लागि आवश्यक स्रोत तथा साधनको सुनिश्चितता, नियामकीय प्रतिवेदन तथा अनुपालन व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो।

त्यसैगरी सीमा पार वित्तीय कारोबारको निगरानी, बीमा तथा पुनर्बीमा कोषको प्रभावकारी नियन्त्रण, अन्तर्राष्ट्रिय मापदण्ड तथा Insurance Core Principle (ICP)–22 को पालना, लाभग्राही स्वामित्व सम्बन्धी पारदर्शिता, स्वार्थको द्वन्द्व न्यूनीकरण, शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्रणालीको प्रभावकारी कार्यान्वयन, संस्थागत जवाफदेहिता तथा प्रतिष्ठागत जोखिम व्यवस्थापन जस्ता महत्वपूर्ण विषयहरूलाई समेत समेटिएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल ले स्वागत मन्तव्य व्यक्त गर्दै वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा नियामकीय अनुपालनलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमको समापन गर्दै कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई सफल बनाउन बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सिटिजन लाइफले नेपाल सरकार, नेपाल बीमा प्राधिकरण तथा सम्बन्धित नियामक निकायहरूले जारी गरेका कानुनी तथा नियामकीय व्यवस्थाहरूको पूर्ण पालना गर्दै वित्तीय प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउन निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

साथै, नेपालले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीप्रति आफ्नो विश्वसनीयता थप सुदृढ गर्दै वित्तीय अपराध नियन्त्रणका क्षेत्रमा हासिल गर्नुपर्ने लक्ष्यहरू प्राप्त गर्न निजी क्षेत्रको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले AML/CFT सम्बन्धी मापदण्ड, सुशासन, जोखिम व्यवस्थापन तथा पारदर्शी व्यवसायिक अभ्यासलाई उच्च प्राथमिकतामा राखी कार्य गर्ने जनाएको छ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भविष्यमा समेत नियामकीय अनुपालन, वित्तीय अपराध नियन्त्रण तथा जिम्मेवार संस्थागत अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यले यस्ता क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij