काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ३.३५ प्रतिशतले बढेको हो।
गत आवको चैत मसान्तसम्म ३२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालू आवको सोही अवधिमा ३४ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यता कम्पनीको जीवन बीमाकोष ९ अर्ब ५१ करोड रुपैयाँबाट २५ प्रतिशतले बढेर ११ अर्ब ९० करोड रुपैयाँ नाघेको छ।
कम्पनीको आम्दानी भने केही खुम्चिएको वित्तीय विवरणले देखाएको छ। समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन ३ अर्ब ७१ करोड रुपैयाँबाट ५ प्रतिशतले घटेर ३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १.६१ प्रतिशतले घटेको छ भने कुल खर्च १.७६ प्रतिशतले बढेको छ। अभिकर्तालाई दिइने कमिशन भने १०.१२ प्रतिशतले वृद्धि भएर ३१ करोड ६७ लाख रुपैयाँ नाघेको छ।
प्रतिशेयर आम्दानी ११.०७ रुपैयाँबाट घटेर ८.५५ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४१.३८ रुपैयाँ छ। चुक्ता पूँजी ५ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २३ करोड ३२ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ६४ लाख रुपैयाँ सञ्चिति रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij