२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

माण्डु हाइड्रोपावरको नाफा बढ्यो

माण्डु हाइड्रोपावरको नाफा बढ्यो

195
Shares

काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खुद नाफामा उल्लेख्य वृद्धि देखाएको छ।

प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले २१ करोड ७० लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ५ करोड २ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। यस तुलनामा यस वर्ष कम्पनीको खुद नाफामा ३३१.९५ प्रतिशत (चार गुणाभन्दा बढी) को उल्लेख्य वृद्धि भएको छ।

विगतमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट प्रभावित आयोजनाहरूको पुनर्निर्माण सम्पन्न भई विद्युत् उत्पादन पूर्ण क्षमतामा नियमित भएपछि आम्दानीमा आएको तीव्र सुधारले नाफालाई यो उचाइमा पुर्‍याएको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भई ३४ करोड २९ लाख ९४ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १६ करोड ६४ लाख २२ हजार रुपैयाँ रहेको थियो। साे अवधिसम्ममा कम्पनीकाे कुल आम्दानी ३४ करोड ३० लाख ५५ हजार रुपैयाँ कायम भएको छ। आम्दानीमा आएको वृद्धिसँगै कम्पनीको सञ्चालन मुनाफा गत वर्षको १४ करोड ६९ लाख रुपैयाँबाट बढेर ३१ करोड ३९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च तथा प्रशासनिक खर्चमा आएको सन्तुलनले खुद नाफाको फड्कोलाई थप टेवा दिएको छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ५९ करोड ७३ लाख ९५ हजार रुपैयाँ सञ्चित रहेको छ। वित्तीय परिसूचकहरूमा पनि उल्लेख्य सुदृढता देखिएको छ, जहाँ कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी गत वर्षको १४ रुपैयाँ ७६ पैसाबाट बढेर ५७ रुपैयाँ ८९ पैसा पुगेको छ। यसैगरी, प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २० पैसा र सम्पत्तिमा प्रतिफल ४.१३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij