२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणमा जाँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणमा जाँदै

475
Shares

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको छ।

उनी बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

विपतपछिको पुनर्निर्माणलगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ।
बिहीबार साँझ ५ बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्।

यस्तै, शुक्रबार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। शुक्रबार नै अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्न लागेको बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।

शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुने कार्यक्रम छ। शनिवार दिउँसो नै अर्थमन्त्री डा. वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने र शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij