काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले बुधबार (भदौ १७) एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो । सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा दरखास्त दिन भनिएको छ ।
दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ ।
मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिकाबमोजिम अयोग्य नरहेको र अन्य प्रचलित कानुनले अयोग्य नठहर्याएको हुनुपर्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।
दरखास्तका साथमा शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्र, वैयक्तिक विवरण (सीभी) र अनुभव खुल्ने कागजातहरूको प्रतिलिपि स्वयम् प्रमाणित गरी पेस गर्नुपर्नेछ ।
यस्तै, उदयपुर सिमेन्ट उद्योग सञ्चालनका लागि बढीमा ५ हजार शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजना समेत मागिएको छ । सर्टलिस्टमा परेका उमेदवारहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी गराइने मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij