काठमाडौं -गोल्छा अर्गनाइजेसनअन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर C10 को २०२६ मोडलका लागि विशेष मूल्य सार्वजनिक गरेको छ। कम्पनीले विशेष अफरअन्तर्गत C10 को मूल्य रु. ७५.९९ लाख तोकेको हो। अफर समाप्त भएपछि यसको मूल्य रु. ७७.९९ लाख कायम हुने कम्पनीले जनाएको छ।
नयाँ मोडलमा स्मार्ट कनेक्टिभिटी सुविधालाई थप अपडेट गरिएको छ। C10 मा लिपमोटरको आधिकारिक एपसँगै एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा उपलब्ध छ।
सांग्रिला मोटर्सका अनुसार C10 नेपालमा लिपमोटरको सर्वाधिक बिक्री हुने तथा ग्राहकको रोजाइमा परेको मोडल हो। सेल–टु–चेसिस (CTC) प्रविधिमा निर्माण गरिएको यस इलेक्ट्रिक एसयूभीमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक रियर–ह्विल ड्राइभ (RWD) मोटर जडान गरिएको छ।
कम्पनीका अनुसार C10 ले एकपटक पूर्ण चार्जमा ५३० किलोमिटर (CLTC) सम्मको रेन्ज प्रदान गर्छ। यसमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ।
गाडीको इन्टेरियरमा १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ। त्यस्तै, २.१ वर्गमिटरको प्यानोरमिक ग्लास रूफ, उन्नत ADAS सुरक्षा सुविधा तथा प्रिमियम लेदरेट सिट उपलब्ध छन्।
सांग्रिला मोटर्सले ग्राहक तथा अवलोकनकर्ताले देखाएको विश्वास र सहयोगप्रति आभार व्यक्त गरेको छ। कम्पनीले विशेष मूल्य र नयाँ सुविधासहितको २०२६ मोडलले नेपाली विद्युतीय सवारी बजारमा C10 को माग थप बढाउने अपेक्षा गरेको छ।
लिपमोटर स्टेलान्टिससँगको विश्वव्यापी सहकार्यमा सञ्चालित चिनियाँ न्यू इनर्जी भेहिकल (NEV) ब्रान्ड हो। स्टेलान्टिसअन्तर्गत मासेराती, अल्फा रोमियो र प्युजो लगायत १४ वटा विश्वप्रसिद्ध ब्रान्ड रहेका छन्।
कम्पनीका अनुसार लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ। जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएको कम्पनीको दाबी छ। हाल लिपमोटरको बिक्री तथा सेवा सञ्जाल विश्वका ५० भन्दा बढी देशमा विस्तार भएको छ। ती देशमा १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij