काठमाडौँ – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड (एक करोड रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको दुःखद् घटनाप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ । भीषण बाढी र डुबानका कारण सयौँ नागरिकले अकालमै ज्यान गुमाउनुपरेको, कैयौँ बेपत्ता भएको तथा बस्ती र पूर्वाधारहरू नष्ट भई सयौँ परिवार विस्थापित हुनुपरेको कठिन परिस्थितिमा कम्पनीले प्रभावित नागरिकहरूप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ ।
विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाहरूबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आर्थिक सहयोग घोषणा गरेको हो ।
कम्पनीले स्थापनाकालदेखि नै राष्ट्रमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको घडीमा अग्रपंक्तिमा रहेर सहयोग हस्तान्तरण गर्दै आइरहेको छ । हालको विषम परिस्थितिमा कम्पनीको तर्फबाट उपलब्ध गराइने रु. १ करोड आर्थिक सहयोगले बाढी प्रभावितहरूको खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुनःस्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस दुःखद् घडीमा बाढीमा परी ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बेपत्ताहरूको शीघ्र खोजी, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूप्रति उच्च सम्मान एवं आभार व्यक्त गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij