२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

१८औँ नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

१८औँ नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

590
Shares

काठमाडौं – १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार नै ३० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अनुसार पहिलो दिन नयाँ मोडलका कार, विद्युतीय सवारीसाधन, मोटरसाइकल, स्कुटर तथा बसबारे अवलोकनकर्ताको उल्लेख्य चासो देखिएको छ।

प्रदर्शनीमा राखिएका नयाँ मोडलका सवारीसाधनसँगै रोबोट र नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटरले समेत दर्शकको ध्यान खिचेका छन्। विशेषगरी विद्युतीय सवारीसाधनमा उपलब्ध रेन्ज, मूल्य, पावर, चार्जिङ समय र वारेन्टीका विषयमा ग्राहकले कम्पनीका प्रतिनिधिसँग जानकारी लिएका थिए।

यस वर्षको अटो शोमा कम्पनीहरूले सस्तो पारिवारिक सवारीसाधनदेखि २ करोड ३० लाख रुपैयाँसम्मका विलासी गाडी सार्वजनिक गरेका छन्। विभिन्न मूल्य वर्गका सवारीसाधनबीच मूल्य, प्रविधि, रेन्ज, पावर, चार्जिङ समय तथा वारेन्टीका आधारमा प्रतिस्पर्धा तीव्र देखिएको छ।

अटो शोमा नेपालमै डिजाइन तथा निर्माण गरिएको यात्री पी–२ विद्युतीय स्कुटरको उपस्थितिले भने आयातित ब्रान्डबीचको प्रतिस्पर्धासँगै स्वदेशी विद्युतीय सवारीसाधनको सम्भावनालाई समेत चर्चामा ल्याएको छ। पी–२ तीनवटा भेरियन्टमा उपलब्ध छ।

अटो शोमा विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गरेका छन्। एमएडब्लू वृद्धि मोटर्सले चिनियाँ सवारी उत्पादक डोङफेङका प्रिमियम विद्युतीय सेडान ईपाइ ००७, एसयूभी एमहिरो १ र अवतार ०७ सार्वजनिक गरेको छ। त्यस्तै, सिप्रदी ट्रेडिङले टाटा सिएरा ईभी सार्वजनिक गरेको छ।

एसपीजी अटोमोबाइल्सले जेको जे–५ प्रो सार्वजनिक गरेको छ भने एलआरआर मोटर्सले चिनियाँ ब्रान्ड स्काईवेलको बीई ११ विभिन्न मूल्य र ब्याट्री विकल्पसहित बजारमा ल्याएको छ। यसैगरी, सीजी मोटर्सले हिरो एक्स्ट्रीम २५० आरको बिक्री सुरु गरेको छ।

अटो शोमा २०० भन्दा बढी स्टल रहेका छन् भने ५३ वटा सवारीसाधन ब्रान्ड सहभागी छन्। प्रदर्शनीमा नयाँ सवारीसाधनसँगै अटोमोबाइलसम्बन्धी प्रविधि, उपकरण तथा सेवासमेत राखिएका छन्।

नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए। नाडाका अनुसार बुधबारदेखि अटोमोबाइल क्षेत्रसँग सम्बन्धित ज्ञान आदानप्रदान तथा नलेज सेयरिङका कार्यक्रमसमेत सञ्चालन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij