२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नाडाको ५० वर्ष : आयातदेखि स्वदेशी उत्पादनतर्फ

नाडाको ५० वर्ष : आयातदेखि स्वदेशी उत्पादनतर्फ

465
Shares

काठमाडौं- नेपालमा अटोमोबाइल क्षेत्रले पाँच दशकको यात्रा पूरा गर्दा यसको स्वरूप आयातमुखी बजारबाट बिस्तारै उत्पादन र एसेम्बलीतर्फ उन्मुख हुन थालेको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि, सन् १९७७ मा नेपालभर वर्षमा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएका थिए। अहिले देशभर दर्ता भएका सवारीसाधनको संख्या करिब ५५ लाख पुगेको छ। नयाँ सवारीसाधन दर्तामा करिब ८४ प्रतिशत हिस्सा मोटरसाइकलको छ।

यी तथ्यांकले नेपालीको दैनिक आवागमनमा अटोमोबाइल क्षेत्रले बनाएको प्रभावको आकार देखाउँछन्। पाँच दशकको अवधिमा सवारीसाधन केवल यातायातको साधनमा सीमित रहेनन्, यससँग जोडिएको उद्योग र व्यवसायको दायरा पनि विस्तार हुँदै गयो।

पछिल्ला पाँच आर्थिक वर्षमा नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ। यसबाट करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन भएको छ। पछिल्लो एक आर्थिक वर्षमा मात्रै अटोमोबाइल क्षेत्रले राज्यलाई ७५ अर्ब रुपैयाँभन्दा बढी राजस्व योगदान गरेको छ।

तर अटोमोबाइल क्षेत्रको योगदान राजस्वमा मात्र सीमित छैन। देशभर फैलिएको डिलर तथा सर्भिस नेटवर्क, पार्ट्स र आफ्टरमार्केट आपूर्ति शृंखला, तालिमप्राप्त मेकानिक तथा सर्भिस टेक्निसियन, अटो फाइनान्स, सवारी बीमा तथा उत्सर्जन, सुरक्षा र करसम्बन्धी नीतिमा सरकारसँग हुने निरन्तर संवादले यस क्षेत्रको छुट्टै संरचना निर्माण गरेको छ।

यसैबीच, पछिल्ला वर्षमा नेपालको अटोमोबाइल क्षेत्रमा स्वदेशी उत्पादन र एसेम्बलीको अभ्याससमेत देखिन थालेको छ।

नाडा अटो शोको स्वर्ण जयन्ती संस्करणमा राखिने ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियनमा नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिँदैछ। करिब आठ नेपाली उत्पादक सहभागी हुने उक्त प्याभिलियनमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेल्मेटलगायतका उत्पादन प्रदर्शन हुनेछन्।

यसमा यात्री, एसियन ब्याट्रिज, कोहिनूर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका कम्पनी सहभागी हुने बताइएको छ। सहभागी कम्पनीको अन्तिम सूची भने नाडा सचिवालयबाट पुष्टि हुन बाँकी छ।

दुई सय स्टलको प्रदर्शनीमा स्वदेशी उत्पादनको हिस्सा तुलनात्मक रूपमा सानो भए पनि यसले नेपाली अटोमोबाइल क्षेत्रको बदलिँदो दिशालाई संकेत गरेको छ। नेपाल अहिले पनि अटोमोबाइल उत्पादनमा आत्मनिर्भर मुलुक बनिसकेको छैन। तर पाँच दशकसम्म मुख्यतः आयातमा निर्भर रहेको बजारमा स्वदेशमै केही उत्पादन र एसेम्बली सुरु हुनु महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

स्वदेशी उत्पादनसँगै नेपालमा लामो समयदेखि बजारमा रहेका अन्तर्राष्ट्रिय ब्रान्डको निरन्तरता पनि अटोमोबाइल क्षेत्रको अर्को विशेषता हो। सुजुकी र टाटाजस्ता ब्रान्ड दशकौंदेखि नेपाली सडकमा छन्। कतिपय अवस्थामा एउटै परिवारका तीन पुस्तासम्मले एउटै डिलर नेटवर्कबाट सवारीसाधन खरिद गर्दै आएका छन्।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपाल अब केवल सवारीसाधन आयात गर्ने बजारका रूपमा सीमित नरहेको बताएका छन्।

“हामीले दिन खोजेको सन्देश यही हो, नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन। हामी बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्योगतर्फ बढिरहेका छौं,” उनले भने।

सन् १९७५ मा स्थापना भएको नाडाले सुरुवाती चरणमा नेपालमा सवारीसाधन आयात गर्ने व्यवसायीको प्रतिनिधित्व गर्दै आएको थियो। अहिले यसको दायरा सवारीसाधन आयातसँगै एसेम्बली, वित्तीय सेवा, बीमा, सर्भिस, पार्ट्स आपूर्ति र स्वदेशी उत्पादनसम्म विस्तार भएको छ।

नाडाको पाँच दशकको यात्राले नेपालको अटोमोबाइल क्षेत्रको विस्तार मात्र होइन, उपभोक्ता बजार, रोजगारी, पूर्वाधार, वित्तीय सेवा र औद्योगिक गतिविधिमा आएको परिवर्तनसमेत देखाएको छ। स्वदेशी उत्पादनको हिस्सा अझै सानो भए पनि आयातबाट उत्पादनतर्फ सुरु भएको यो यात्रा आगामी दिनमा नेपाली अटोमोबाइल उद्योगको नयाँ अध्याय बन्न सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij