२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल टेलिकमको फोरजी सेवा राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा सुरु

नेपाल टेलिकमको फोरजी सेवा राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा सुरु

795
Shares

काठमाडौँ – नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ।

असार १५ गतेदेखि सञ्चालनमा आएको यो सेवाले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ रुटमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउनेछ।रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो, जहाँ रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिन्छ। यस स्थलबाट राराताल, विभिन्न हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मनोरम प्राकृतिक दृश्यहरू स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ।

मुर्माटपमा फोरजी सेवा विस्तार भएसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट सेवाको सहज उपयोग गर्न पाउने भएका छन्। यस सुविधापछि पर्यटकहरूले आफ्नो यात्रा अनुभव, तस्बिर, भिडियो तथा लाइभ अपडेटहरू सहज रूपमा सामाजिक सञ्जालमार्फत आदानप्रदान गर्न सक्नेछन्। उक्त क्षेत्रमा आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएसँगै रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ।

यसका साथै स्थानीय होटल, होमस्टे, व्यवसायी तथा सेवाग्राहीहरूले विभिन्न डिजिटल सेवाको उपयोग अझ सहज रूपमा गर्न सक्नेछन्, जसले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ।

फोरजी सेवा सञ्चालनका लागि जडान गरिएको उक्त टावरले मुर्माटप क्षेत्रमा मात्र सेवा उपलब्ध गराउने नभई हुम्ला र बाजुरा लगायतका दुर्गम हिमाली क्षेत्रहरूमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशनको रूपमा समेत कार्य गर्नेछ। यसबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमका मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij