काठमाडौँ- सरकारले राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार कार्यविधि बनाएर योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
सफल उम्मेदवारलाई कुन देशमा पठाइने भन्ने विषय भने टीओआरमा स्पष्ट गरिएको छैन । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन–२०६४ को दफा ४५ तथा राजदूत नियुक्ति निर्देशिका–२०७५ (२०७९ मा संशोधित) अनुसार आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ।
कार्यविधि अनुसार राजदूत पद राजपत्राङ्कित विशिष्ट श्रेणीसरह मानिनेछ र कार्यकाल चार वर्षको हुनेछ । हाल नेपालका १७ वटा कूटनीतिक नियोग प्रमुखविहीन छन्।
राजदूत र परराष्ट्र सेवाका कूटनीतिक नियोगमा खुला प्रतिस्पर्धाबाट भारत, चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अष्ट्रिया, बहराइन, बङ्गलादेश, मलेसिया, ओमान, साउदी अरेबियालगायतमा नियुक्त गरिनेछ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार इच्छुक र योग्य उम्मेदवारहरूले ५ जुन २०२६ (२०८३ जेठ २२ गते) बेलुकी ५ बजेसम्म आवेदन दिन सक्नेछन्। यो नियुक्ति प्रक्रियाले नेपालको कूटनीतिक प्रतिनिधित्वलाई थप व्यवस्थित, पारदर्शी र योग्यतामा आधारित बनाउने लक्ष्य राखेको छ।
राजदूत पदका लागि आवेदन दिन उम्मेदवारको उमेर कम्तीमा ३५ वर्ष पूरा भएको हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने अनिवार्य शर्त राखिएको छ। यद्यपि, उच्च शैक्षिक योग्यता (स्नातकोत्तर वा सोभन्दा माथि) भएका र अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानून, अर्थशास्त्र वा सार्वजनिक प्रशासनमा विशेषज्ञता हासिल गरेका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
राजदूत बन्न चाहने व्यक्तिसँग नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिको गहिरो ज्ञान र अनुभव हुनुपर्नेछ। साथै, अंग्रेजी भाषामा उत्कृष्ट दख्खल हुनुपर्ने र सम्बन्धित देशको भाषाको ज्ञानलाई थप योग्यताको रूपमा हेरिने मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij