२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नाडा अटो शो २०२५ केवल प्रदर्शनी होइन, भविष्यको मोबिलिटी अनुभव हो – अध्यक्ष करण चौधरी

नाडा अटो शो २०२५ केवल प्रदर्शनी होइन, भविष्यको मोबिलिटी अनुभव हो – अध्यक्ष करण चौधरी

4.8K
Shares

नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी  Go For More भन्ने नारासहित  नाडा अटो शो २०२५ आगामी भदौ ३ देखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीसँग  तयारीदेखि बजारको भविष्यसम्मबारे अर्थ नेपाल डट कमका मनोज थापाले गरेको कुराकानी :


नाडा अटो शो २०२५ तयारीको अवस्था अहिले कहाँसम्म पुगेको छ ?

नाडा अटो शो २०२५ काे तयारी अन्तिम चरणमा पुगेको छ। स्टल बुकिङ शतप्रतिशत भइसकेको छ र यसपटक ४–पाङ्ग्रे, २–पाङ्ग्रे, LCV, कम्पोनेन्ट्स तथा सहायक सेवासहितका १०० भन्दा बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी हुनेछन्। प्रदर्शनी स्थलको लेआउट, यातायात तथा सुरक्षाको पूर्वतयारी, टिकटिङ प्रणाली, डिजिटल प्रमोशनदेखि प्राविधिक व्यवस्थासम्म सबै योजनाबद्ध रूपमा सम्पन्न हुँदैछ। सम्पूर्ण टोली उच्च उत्साहका साथ अन्तिम तयारीमा जुटिरहेको छ।

 यस वर्षका प्रमुख आकर्षणहरू के हुनेछन् ?

यस वर्षका प्रमुख आकर्षणहरूमा  Deepal eVTOL Flying Taxi, Unitree Robotics का मानव र कुकुर रोबोट, Special Made in Nepal Pavilion, Vintage Car Pavilion, Auto Dialogues, आधुनिक क्याफे र ईटरीहरू, साथै नयाँ मोडलहरूको पहिलो सार्वजनिक प्रदर्शन हुनेछ। दर्शकहरूले प्रत्यक्ष अफर, स्किम, फाइनान्स सुविधा र बुकिङको अवसर पाउनेछन्।

 अघिल्ला संस्करणहरूभन्दा फरक के रहनेछ ?

 यो संस्करण केवल सवारी साधनको प्रदर्शनी मात्र होइन, भविष्यको मोबिलिटी अनुभव गराउने राष्ट्रिय मञ्च हो।  नाडाको ५० वर्षको इतिहास र २७ वर्षभन्दा बढीको अटो शो अनुभवलाई नवीन प्रविधि, आधुनिक डिजाइन र अन्तर्राष्ट्रियस्तरको प्रस्तुतीकरणसँग संयोजन गरिएको छ। यो इतिहासकै सबैभन्दा ठूलो र प्रभावशाली अटो शो हुनेछ।

 अटोमोबाइल बजारको अवस्था कस्तो छ ?

अहिले नेपालको अटोमोबाइल बजार क्रमशः पुनरुत्थानको चरणमा छ। कोभिडपछिको मन्दी, आयात प्रतिबन्ध र बैंकिङ तरलता समस्याले असर पारेको भए पनि इभी र नयाँ प्रविधिप्रतिको चासोले बजारमा पुनः जीवन भरेको छ।

 वार्षिक बिक्री लक्ष्य कस्तो छ ?

 कम्पनी र सेग्मेन्टअनुसार फरक पर्छ, तर उद्योगले गत वर्षको भन्दा उल्लेखनीय वृद्धि गर्ने अपेक्षा राखेको छ। इभी सेग्मेन्टमा २०-३०% वृद्धिको सम्भावना छ। इभी र हाइब्रिड सवारीको हिस्सा बढ्नेछ, पेट्रोल र डिजेलको हिस्सा घट्ने अनुमान छ। दुईपाङ्ग्रे र साना सवारी स्थिर रहने अपेक्षा छ।

नेपाली अटो बजारमा नाडाको योगदान के हो ?

नाडा ५० वर्षदेखि उद्योगको साझा आवाज हो। नीति संवाद, बजार प्रवर्द्धन, उपभोक्ता सचेतना र प्रदर्शनीमार्फत बजार सक्रिय राख्नमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

एउटै वर्षमा दुई अटो शो हुँदा के असर पर्छ ?

एउटै वर्षमा दुईवटा अटो शो हुँदा बजारमा प्रतिस्पर्धा बढ्छ, तर उद्योगको आवाज एकताबद्ध हुनु जरुरी हुन्छ।

अटो उद्योगको सम्भावना र चुनौतिहरू के हुन् ?

सम्भावनामा इभी अपनत्व, स्थानीय असेम्ब्ली, डिजिटल बिक्री च्यानलरहेका छन् भने चुनौतिमा नीति अस्थिरता, पूर्वाधारको कमी, र वित्तीय पहुँच रहेका छन् ।

चार्जिङ पूर्वाधारको अवस्था कस्तो छ ?

थोरै मात्र प्रगति भएको छ, तर पर्याप्त छैन। ग्रामीण क्षेत्रमा अझै अत्यन्त सीमित पहुँच छ।

नेपालमा इभी नीति र प्रोत्साहनबारे तपाईको धारणा ?

नीति सकारात्मक भए पनि स्थायीत्व र कार्यान्वयनको गति कमजोर छ। प्रोत्साहनहरू दीर्घकालीन हुन आवश्यक छ।

अटो बजार विकासका लागि मुख्य प्राथमिकताहरू के हुन्?

पूर्वाधार विस्तार, कर संरचना पुनरावलोकन, पारदर्शी वित्तीय सुविधा र उपभोक्ता शिक्षा अटो बजार विकासका लागि मुख्य प्राथमिकताहरू हुन ।

अन्तर्राष्ट्रिय साझेदारको दृष्टिमा नेपालको बजार कस्तो देखिन्छ ?

उच्च सम्भावनासहितको सानो तर आकर्षक बजार रहेको छ। राजनीतिक स्थायीत्व र नीति स्पष्टताले थप लगानी आकर्षित गर्न सक्छ।

 सरकार र नियामकसँगको समन्वय कस्तो छ ?

नाडाले सधैं त्रिपक्षीय संवादलाई प्राथमिकता दिएको छ – उद्योग, सरकार, र उपभोक्ता बीच। हालै कर, इभी प्रोत्साहन र भृकुटीमण्डप स्तरीकरणबारे निरन्तर छलफल भइरहेको छ।

अन्ततः आगामी कदमहरू के हुन् ?

 नीति सुधारमा दबाब, इभी पूर्वाधार विस्तार, उद्योग एकता र उपभोक्ता विश्वास कायम राख्नु प्रमुख लक्ष्य हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij