काठमाडौं –प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने साउन १ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले भोली अर्थात साउन २ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सले साउन २३ गते, शुक्रबार, प्रभु इन्स्योरेन्सको केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij