काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज शुक्रबार बाँडफाँट गरिएको छ। आइपीओ धितोपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान साढे ८ बजे बाँडफाँट गरिएको हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यो आइपीओमा सदर आवेदकमध्ये १६ लाख ३२ हजार ६४८ को हात खाली भएको छ।
कम्पनीले फागुन ११ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
त्यसेमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो। कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता शेयर बाँडफाँट गरिएको थियो।
कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो आइपीओ फागुन ११ गतेबाट फागुन १५ गतेसम्म खुला गरिएको थियो। १८ लाख १७ हजार १४८ आवेदकबाट माग भएको २ करोड २४ लाख ४६ हजार ३५० कित्ता शेयर सदर भएको थियो। १० हजार ३८६ आवेदकबाट माग भएको १ लाख ७१ हजार ९६० कित्ता शेयर भने बदर भएको थियो।
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओको अन्तिम नतिजा सीडीएससीको मेरो शेयर, धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल र धितोपत्र निष्कासनकर्ता नेपाल माइक्रो इन्स्योरेन्सको वेबसाइटमा गएर हेर्न सकिन्छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij