काठमाडौं- नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अहिले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij