काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौँको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको हो ।
सभाले शेयरधनीहरूलाई १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपले पारित गरेको छ ।
यसका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०७९।८० वार्षिक प्रतिवेदन, साबिक रिलायन्स र सानिमा लाइफको सोही आवको लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पनि पारित भएको छ ।
त्यस्तै लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने लगायतका प्रस्तावहरू पनि सभाबाट पारित भएको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज ११ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले सभाले पारित गरेको लाभांश पाउनेछन् ।
सानिमा लाइफ र रिलायन्स लाइफ आपसमा गाभिई एकीकृत कारोबार सुरु भएको मिति २०७९ चैत ९ गतेदेखि २०८१ असोज १० गतेसम्म कम्पनीको शेयर नियमानुसार खरिदबिक्री दर्ता खारेज भई नयाँ कायम हुन आएका शेयरधनीहरुले नियमानुसार प्राप्त गर्ने बोनस शेयरमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने लाभांश कर रकम दाखिला भएपछि सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस शेयर दाखिला हुने कम्पनीले जनाएको छ।
बोनस शेयर जारीपछि चुक्तापुँजी वृद्धि भएर ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २२४ रुपैयाँ पुर्याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनिन सभाले अनुमोदन गरेको छ । पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिका लागि पेस हुँदा नियमनकारी निकायबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सोसमेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने अजेन्डा पनि सभाले अनुमोदन गरेको छ ।
सभाले सञ्चालक समितिमा संस्थापक समूहका तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तिको अनुमोदन गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij