काठमाडौं -लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) आफ्नो स्थापनाको २३ वर्ष पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । एलआईसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको नेपालको एक अग्रणी बीमा कम्पनी हो ।
नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिककाबीच बीमा बारे सचेतना बढाई बीमासेवाको दायरा वृद्धि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ ।
२३औं वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमूख अतिथिको रुपमा यस कम्पनीका संस्थापक संचालक अशोक कुमार अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर एवं निम्तालु अतिथीहरुलाई दोसल्ला ओडाई तथा टिका एवं माला पहिर्याई सम्मान गरेका थिए ।
प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुने एजेन्ट पूर्ण बहादुर खड्का, बीमालेखको आधारमा प्रथम हुने शारदा राई (काठमाडौं) एजेन्सी म्यानेजरको आधारमा प्रथम हुनुहुने रीता खतिवडालाई माला तथा दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
त्यसैगरी सन् २००१ देखि अभिकर्ताको हैसियतमा सेवा प्रदान हुने उमेरले वरिष्ठ सक्रिय अभिकर्ता शंकर कार्की, चिकित्सकको रुपमा सेवा प्रदान हुने डा. अनिल मिश्र, हिमालयन पुनर्बीमा कम्पनीका डेपुटी कार्यकारी अधिकृत मनिष कुमार, केयर रेटिङका प्रमुख कार्यकारी अधिकृत इक्रा नेपालकी प्रबन्ध निर्देशक वर्षा श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमारले वर्तमान विषम परिस्थितिको वावजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आईपर्ने जोखिममलाई न्यूनिकरण गरी आम नागरिकको विश्वास जित्न सफल भएको बताए ।
उनले कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याई पुर्याउनमा नियमनकारी निकाय, संचालक समिति, शेयरधनी एवं कर्मचारी लगायत सबैमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij