काठमाडौं– नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफ इन्योरेन्सको अन्तरिम लाभांश रोकेको छ । बीमा प्राधिकरणको अनुमति बेगर नै एकै आर्थिक वर्षमा २ पटक लाभांश घोषणा गरेको आरोपमा सिटिजन लाइफको लाभांश स्थगन भएको छ ।
बीमा प्राधिकरणले सोमबार दिउँसो कम्पनीले त्रुटि गरेको निष्कर्ष सहित प्रस्तावित लाभांशलाई स्थगित गर्ने निर्णय गरिएको प्राधिकरणको जानकारी छ । कम्पनी सञ्चालक समितिको बैठकले प्रिमियममा सेयर निष्काशन गर्दा सञ्चित भएको प्रिमियमबाट बोनस र नगद गरी २८.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्राधिकरणले तोकेको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ कायम गर्ने चटारोमा रहेको कम्पनीले अन्तरिम लाभांशका रूपमा २६.९८ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९३ करोड ७५ लाख रहेको छ। प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब ५३ करोड पुग्ने थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij