२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अग्राधिकार शेयर भनेको के हो ?

अग्राधिकार शेयर भनेको के हो ?

8.1K
Shares

काठमाडौं- कुनै पनि कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर भनिन्छ ।

कम्पनिको लाभांश अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ । कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्दछ । साधारण शेयर बापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैं एउटै हुने सुनिश्चित हुन्छ ।
कुनै पनि कम्पनीले दुई प्रकारको शेयर जारी गर्न सक्छ । यसमा साधारण तथा अग्राधिकार शेयर (प्रिफरेन्स शेयर) पर्छन् । साधारण शेयर अनिवार्य रूपमा निष्कासन गर्नुपर्छ भने अग्राधिकार शेयरचाहिँ आवश्यकताअनुसार पूँजी नपुगेमा निष्कासन गर्न सकिन्छ । अग्राधिकार शेयरका सम्बन्धमा कम्पनी ऐन २०६३ को दफा २ (ण)ले साधारणभन्दा अग्राधिकार पाउने शेयरलाई अग्राधिकार शेयरका रूपमा लिएको छ । कम्पनीको प्रबन्धपत्र नियमावलीमा तोकेअनुसार मुनाफाबाट अग्राधिकार शेयरधनीले निश्चित दरको लाभांश पाउँछन् । तर, साधारण शेयरधनीले नपाउन पनि सक्छन् । कम्पनीले जतिसुकै नाफा आर्जन गरेको अवस्थामा पनि तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैन । कम्पनीको खुद नाफाबाट वितरण गर्न छुट्ट्याएको मुनाफा साधारणभन्दा अग्राधिकार शेयरले प्राथमिकताका साथ पाउँछ । कम्पनी खारेजीमा गएमा पनि लिक्वीडेशन प्रक्रियाबाट सञ्चित रकम साधारण शेयरधनीले भन्दा अग्राधिकारवालाले प्राप्त गर्न सक्छन् । अग्राधिकारसँग साधारण शेयरको तुलना गर्दा अग्राधिकार शेयरमा जोखीम कम र प्रतिफल पनि कम हुनुका साथै शेयरधनीले पाउने लाभांशको दर निश्चित हुन्छ । कम्पनी लिक्वीडेशनमा गएको अवस्थाका दायित्व भुक्तानी गरी बाँकी रहेको रकममा दाबी गर्ने हक साधारण शेयरधनीले भन्दा अग्राधिकार शेयरधनीले पाउँछ । अग्राधिकार शेयरमा डिबेञ्चरसम्बन्धी विशेषता पाइन्छ भने साधारण शेयरमा डिबेञ्चर सम्बन्धित गुण पाइँदैन । साधारण शेयरधनीले साधारणसभामा भाग लिने, सञ्चालक समितिको निर्वाचनका लागि मतदान गर्ने, शेयरधनीका हैसियतले सञ्चालक बन्ने, वार्षिक आयव्यय हिसाबकिताब पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने आदि अधिकार प्राप्त गर्छ । तर, यस्तो अधिकार अग्राधिकार शेयरधनीले पाउँदैन । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा अग्राधिकार शेयरधनीहरूकोे हकहितसँग सम्बन्धित विषयमा साधारणसभामा छलफलमा भाग लिन सक्ने व्यवस्था भएको अवस्थामा भने भाग लिन र मतदान गर्नसक्छ । कम्पनी ऐन २०६३ को दफा ६५ (१) अनुसार कम्पनीले यो ऐन, प्रबन्धपत्र वा नियमावलीमा व्यवस्था भएबमोजिम अग्राधिकार शेयर जारी गर्न सक्ने व्यवस्था छ । उक्त ऐनबमोजिम कम्पनीले अग्राधिकार शेयर जारी गर्दा आवश्यक प्रावधान प्रबन्धपत्र वा नियमावलीमा हुन जरुरी छ ।
उक्त ऐनको दफा ६५(२)मा कम्पनीको नियमावलीअनुसार अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसैले अग्राधिकार शेयर साधारण शेयरमा परिणत हुन सक्छ । उक्त ऐनको उपदफा ६५ (३)ले अग्राधिकार शेयर जारी गर्दा अन्य कुराको अतिरिक्त साधारण शेयरभन्दा अगाडि लाभांश प्राप्त गर्ने वा नगर्ने, अग्राधिकार शेयरधनीले कति प्रतिशत लाभांश प्राप्त गर्ने, प्रत्येक वर्ष लाभांश जोडिँदै जाने (क्युमुलेटिभ) हो वा मुनाफा भएको वर्ष मात्र मुनाफा (नन् क्युमलेटिभ) वितरण हुने हो स्पष्ट गरिनुपर्छ । कम्पनी खारेज भएको अवस्थामा शेयरको रकम फिर्ता गर्दा अग्राधिकार दिने वा नदिने, मताधिकार हुने वा नहुने र मताधिकार हुने भए अग्राधिकार शेयरको विषयमा मात्र वा अन्य विषयमा पनि हुने, अन्य कुरामा पनि मताधिकार हुने भए कुन अनुपातमा मताधिकार हुने भन्ने पनि स्पष्ट पार्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij