काठमाडौं – भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । सर्वसाधारणमा भदौ १८ गते आईपीओ बाँडफाँट गरेको कम्पनीले शेयर रजिष्ट्रार अन्तर्गतको सम्पुर्ण कार्य गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी छ । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ सर्वसाधारणमा प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो ।
प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा कम्पनीले आईपीओ विक्री गरेको हो । कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४ दशमलव ५ मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट कम्नपीले २०६९ साल भदौ ५ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij