काठमाडौं– रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार २७ गतेदेखि प्रिमियममा आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहका लागि आइपिओ निष्कासन गर्ने भएको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।
सोमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्ने कम्पनीले बताएको छ। त्यसैगरी, निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि (प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ।
बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्नेछ। उक्त सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन १० गतेसम्म आवेदन दिन सक्नेछ। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी त्रिपल बी प्लस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको जनाउँछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij