काठमाडौं – यो साता धितोपत्र दोस्रो बजारमा तीन कम्पनीको २० करोड २३ लाख ८८ हजार कित्ता शेयर थपिएको छ । आरएमडीसी लघुवित्त वित्तिय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र मितेरी डेभलपमेण्ट बैंकको शेयर यो साता नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत शेयरमध्ये २ वटा कम्पनीको बोनस शेयर र एउटा कम्पनीको साधारण शेयर रहेको छ ।
मितेरी डेभलपमेण्ट बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको १५ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता शेयर बिहीवार नेप्सेमा सूचीकृत गराएको हो । आइतवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा शेयर जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
आरएमडीसी लघुवित्त वित्तिय संस्था
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार आरएमडीसी लघुवित्त वित्तिय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । उक्त लघुवित्तको १३ लाख ४८ हजार ९८५ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बिहिबार धितोपत्र दोस्रो बजार (नेप्से) मा शेयर सूचीकृत गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल २० करोड कित्ता शेयर बिहीवार सूचीकृत गराएको हो । अब यो शेयर आइतबारदेखि कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ११३ दशमलव ६२ देखि रू. ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकेको छ ।
कम्पनीले माघ २ देखि ६ गतेसम्म ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो । कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको थियो ।
अधिकत पूँजी ४० अर्ब र जारी पूँजी २० अर्ब रहेको बैंकको सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात चुक्तापूँजी २० अर्ब कायम भएको छ । कम्पनीले संस्थापकतर्फको १२ करोड कित्ता र सर्वसाधारष्ण तर्फको ८ करोड कित्ता गरी कुल २० करोड कित्ता शेयर कम्पनीले नेप्सेमा सूचीकृत गराएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij